संक्रमणपश्चात् ‘ब्ल्याक फंगस’ को त्रास

714
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत् एक म्युकोमाइकोसिस (ब्ल्याक फंगस) संक्रमितको मृत्यु पुष्टि भएपछि कोरोना संक्रमणपश्चात् ढुसीको आशंकामा हेटौंडाको आँखा अस्पतालमा उपचारका लागि पुग्नेको संख्या बढेको छ ।

जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत् कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय एक पुरुषको म्युकोमाइकोसिसका कारण मृत्यु भएको थियो । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा ‘ब्ल्याक फंगस’ (कालोढुसी) पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

छिमेकी भारतमा कोरोना महामारीसाथ संक्रमितहरुमा ‘ब्ल्याक फंगस’ को खतरा बढेपछि हेटौंडामा कोरोना संक्रमणबाट मुक्त भएकाहरु आँखाजाँचका लागि अस्पताल पुग्ने क्रम बढेको छ । तर, स्थानीय क्षेत्रमा ‘ब्ल्याक फंगस’ पुष्टि भएको छैन ।

उनीहरु आँखाजाँचका लागि हेटौंडा सामुदायिक आँखा अस्पताल पुग्न थालेका हुन् । आँखामा केही असहजता आएपछि उनीहरु अस्पताल पुग्न थालेका हुन् । कोरोना संक्रमणबाट मुक्त भएर ‘ब्ल्याक फंगस’ को आशंकामा दैनिक जसो ३÷४ जना आँखा अस्पतालमा पुगिरहेका छन् ।

भारतको गुजरात सुरतमा ‘ब्ल्याक फंगस’ का कारण ८ संक्रमितको आँखाको ज्योति गुमेको घटना बाहिर आएपछि स्थानीयमा त्रास छ । यो नयाँ संक्रमणलाई चिकित्सकीय भाषामा ‘म्युकोर माइकोसिस’ र सामान्य बोलीचालीको भाषामा ‘ब्ल्याक फंगस’ भनिन्छ ।

कोभिड र सुगर भएका बिरामीहरुलाई यस्तो हुने सम्भावना हुने गर्दछ । यही कारण बिरामीलाई फंगल अर्थात् ढुसीको संक्रमण हुने हेटौंडा सामुदायिक आँखा अस्पताल प्रमुख डा. सुनील थकालीले बताउनुभयो । ‘समय छँदै यसलाई नियन्त्रित गरिएन भने यो प्राणघातक हुने देखिएको छ,’ डा.थकाली भन्नुहुन्छ–ब्ल्याक फंगसले धेरैजसो रोगप्रतिरोधी क्षमता कमजोर भएकाहरुलाई आक्रमण गर्छ । कोरोना संक्रमित रहेकै क्रममा ‘ब्ल्याक फंगस’ को संक्रमण भए बिरामीको ज्यान जाने खतरा बढ्छ ।

उहाँका अनुसार बिरामी जति लामो समयसम्म अस्पतालमा रहन्छ, जति लामो समयसम्म रोग प्रतिरोधात्मक औषधि खान्छन् र जसले संक्रमणको बेला हाइफ्लो अक्सिजनको प्रयोग अधिक गरे, उनीहरुलाई ‘ब्ल्याक फंगस’ को खतरा बढ्दै जान्छ । मानिसको शरीरमा कोरोना भाइरस प्रवेश गर्ने आँखा पनि एक मुख्य बाटो भएकाले पनि ‘ब्ल्याक फंगस’ देखिएको हुनसक्ने डा. थकाली बताउनुहुन्छ । कोरोना संक्रमण भएको ६ सातासम्म यस्तो हुने अध्ययनले बताएको छ ।

‘कोरोना भाइरस संक्रमण फैलिनुमा आँखा पनि प्रमुख माध्यम रहेको देखाउँछ,’ डा. थकालीले भन्नुभयो । उक्त संक्रमण कोरोनाकै कारण फैलिरहेको र यसको उपचार सम्भव रहेको डा. थकालीको दाबी छ ।

डा. थकालीले आँखा दुख्नु, आँखा सुन्निनु र एउटा चिजलाई दुई वटा देख्नु वा देख्न नसक्नु ब्ल्याक फंगसको लक्षणसहित ज्वरो आउनु, टाउको दुख्नु, खोकी लाग्नु वा सास फेर्न गाह्रो हुनु, नाक बन्द हुनु, नाकमा सिंगानका साथ रगत आउनु, अनुहारको एक पाखामात्र दुख्ने जस्ता लक्षण देखिए तत्काल अस्पताल आउन आग्रह गर्नुभएको छ ।