व्यापारीले मनपरी मूल्य बढाएपछि प्रशासनको अनुगमन सुरु



विमल विष्ट, डोटी ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञा अर्थात बन्दाबन्दीका समयमा जिल्लाका व्यापारीहरुले आफुखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगम सुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा प्रशासकिय अधिकृत मधुकृष्ण पौडेल सहितको टोलीले यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, राजपुर लगायतका क्षेत्रमा रहेका पसलहरुमा अनुगमन गरीरहेको छ ।अनुगमनमा नगरपालिकाका कर्मचारी, पत्रकार, नागरिक समाज, उपभोक्ता समितिका पदाधिकारी तथा बाणिज्य संघका पदाधिकारी समेत सहभागी भएका छन् । जिल्लामा बन्दाबन्दीको समयमा व्यापारीले आफुखुशी मूल्य लिन थालेको पटक पटक गुनासो आएपछि प्रशासनले बल्ल अनुगमन सुरु गरेको हो ।

उक्त अनुगमन समितिले सरकारी दररेट अनुसारको बजार भाउ एक रुपता भए नभएको विषयमा जानकारी लिनुका साथै उपभोग्य मिति भएको नभएको बारेमा समेत जानकारी लिन थालेको छ । अनुगमनका क्रममा बजारमा म्याद सकिएको अवस्थामा भेटिएका नरिवल लड्डु, चाट मसला, मिट मसला, जिरा, तिल, मेथी, बिस्कुट लगायतका खाद्य सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “तोकिएको मूल्य मात्रै लिन सबैलाई आग्रह गरेका छौँ, अनुगमनमा म्याद सकिएका भेटिएका अखाद्य बस्तु बरामद गरेका छौँ, म्याद सकिएका बस्तु नबेच्न निर्देशन दिएका छौँ ।”

म्याद सकिएका अखाद्य बस्तु बिक्रि बितरण गर्ने तथा तोकिएको भन्दा बढी रकम उपभोक्ताबाट लिएको पाइएमा तत्काल कारवाहि गरिने योजना अनुसार जिल्लामा बजार अनुगमनलाई तिब्रता दिइएको सप्रजिअ जोशीले जानकारी दिनुभयो । बजार अनुगमनको क्रममा पसल फर्म दर्ता, ईजाजत, कर कार्यालयमा दर्ता, करचुक्ता, नापतौल, लगायतको समेत निरीक्षण गर्न थालिएको प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका धेरै जसो पसलहरुमा म्याद नाघेका सामान र अन्य खाद्य बस्तुसँगै राखिएको, लेवल वस्तु, आवश्यकता भन्दा बढी सामान व्यापारीले स्टक राखिएको भेटिएको छ । व्यापारी तथा व्यावसायीलाई कानुन विपरीत कार्य नगर्न पहिलोपटक चेतावनी दिई कानुन बमोजिम रहेर मापदण्ड पालना गर्न निर्देशन दिईएको छ ।

उक्त अनुगमन समितिमा खाद्य प्रबिधि तथा गुणस्तर बिभागका प्रतिनिधि, दिपायल सिलगढी नगरपालिकाका प्रतिनिधि र उद्योग बाणिज्य संघका प्रतिनिधिहरुको समेत सहभागिता रहेको छ ।बिगतको समयमा दशै तिहारको समयमा मात्रै बजार अनुगमन हुँदै आएको डोटीमा यो पटक उपभोक्ताले मूल्य बढाएको गुनासो गरेपछि बजार अनुगमन भएको भन्दै यहाँका उपभोक्ताहरु खुशी भएको दिपायल सिलगढी नगरपालिका–४ का भरत बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनको फाइदा उठाउदै व्यापारीले मनमर्जि रकम लिदै थिए, अहिले प्रशासनले अनुगमन ग¥यो, अब उपभोक्ता ठगिनेबाट रोकिने छन्, हामी खुशी भएका छौँ ।”कोरोना सङ्क्रमणका कारण जिल्लामा निषेधाज्ञा शुरु भएपछि यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको थियो । दाल, चामल, खाने तेलदेखि तरकारीलगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताले आरोप लगाएका थिए । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, विपीनगर, गोपघाट क्षेत्रमा प्रायः दैनिक उपभोग्य वस्तुको बजार मूल्य अहिले अघिल्ला महिना (निषेधाज्ञा) को तुलनामा ५० प्रतिशतसम्म बढाइएको शिखर नगरपालिका–१ का खडक बोगटीले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोनाको बेला सबै बन्द छ, बजार अनुगमन गरिएको थिएन, व्यापारीले मनपरी मूल्य लिएकाले उपभोक्ता मारमा परका थिए, बल्ल अनुगमन सुरु भएको छ, अब कोही ठगिदैनन होला ।” उहाँका अनुसार ५०० एमएलको खाने तेल निषेधाज्ञाअघि रु ९० पाइने गरेको भएपनि हाल व्यापारीले रु ११० देखि रु १२० सम्म लिन थालेको थिए । त्यस्तै अन्य खाद्य सामग्रीमा पनि चर्को मूल्य वृद्धि गरिएको उक्तभोक्ताको आरोप छ। यस्तै यहाँका व्यवसायीले प्लास्टिकजन्य सामान, कुखुराको मासु, तेललगायत वस्तुहरूको मूल्य बढाएको राजपुरका स्थानीय होटेल व्यवसायीको आरोप छ ।

अनुगमन समितिका सदस्य तथा उद्योग वाणिज्य सघका अध्यक्ष मोहनबहादुर कलेलले बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि गरि सामान बेच्ने गरेको प्रमाणसहित गुनासो वा उजूरी आए तत्काल कारबाहीका लागि सिफारिस गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दाबन्दीको फाइदा उठाएर महङी गर्ने व्यापारीको नाम फोनमै भएपनि टिपाउनुस, तत्काल कारवाहिका लागि सिफारी गर्छौँ ।” सामान्यतया यहाँका बजारमा तरकारीदेखि अन्य दैनिक उपभोग्य वस्तुको मूल्य शत्प्रतिशत वृद्धि भएको उपभोक्ता बताउँछन्। भटमासको तेल प्रतिलिटर १६५, दाल, चामल र अन्य तरकारीमा पनि रु २० देखि ३० सम्म बढाएर व्यापारीले बेच्ने गरेको गुनासो उपभोक्ताहरुको छ।

प्रतिक्रिया दिनुहोस्