संवैधानिक इजलास गठनप्रति दुई न्यायाधीशको असहमति

अब शुरूदेखि नै बहस हुने


विकास भट्टराई, काठमाडौं

प्रधानमन्त्री केपीशर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेकोविरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ गर्न गठित संवैधानिक इजलासका दुई न्यायाधीश इजलास गठनप्रति नै असहमति जनाई इजलासबाट बाहिरिएका छन् ।

न्यायाधीशहरू दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले इजलास गठनप्रति नै असहमति जनाई सो इजलासमा बस्न असहमति जनाउँदै बाहिरिएका हुन् । दुई न्यायाधीश बाहिरिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यही जेठ २३ गते अर्को इजलास गठन गरी रिट निवेदनको सुनुवाइ गर्ने बताउनुभएको छ ।प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध दायर भएका रिट निवेदनको सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश राणाले आफू सम्मिलित भई न्यायाधीशहरू कार्की, भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलास गठन गर्नुभएको थियो ।रिट निवेदकका कानुन व्यवसायीहरूले सो इजलासमा रहेका केसी र श्रेष्ठले ती रिट निवेदनको सुनुवाइ गर्न नमिल्ने भनी प्रश्न उठाएका थिए । त्यस्तो प्रश्न उठाए पनि ती दुई न्यायाधीशले आफ्नो कुनै स्वार्थ नभएको उल्लेख गर्दै आफूहरूले सो रिट निवेदनको सुनुवाइ गर्न मिल्ने उल्लेख गर्नुभएको थियो ।

ती दुई न्यायाधीशहरूले त्यस्तो उल्लेख गरेपछि न्यायाधीशहरू कार्की र भट्टराईले उनीहरू सो इजलासमा रहेसम्म निष्पक्ष न्याय हुन्छ भन्ने आफूहरूलाई नलागेको उल्लेख गर्दै उक्त इजलासबाट अलग हुने जनाउनुभएको थियो । न्यायाधीशहरू कार्की र भट्टराईले पछि निष्पक्षरूपमा इजलास गठन भएको लागेमा आफूहरूलाई सो इजलासमा बस्न तयार रहेको उल्लेख गर्नुभएको छ ।संवैधानिक इजलासमा रहनुभएका न्यायाधीशहरू तेजबहादुर केसी र बमकुमार श्रेष्ठले सो इजलासमा बस्न मिल्ने वा नमिल्ने भन्नेसम्बन्धमा मंगलबार आफ्नो धारणा राख्नुहुने भएको छ ।न्यायाधीशहरू केसी र श्रेष्ठले गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टीसँग सम्बन्धित रिट निवेदन सुनुवाइ गरी निर्णय गरेको अवस्थामा प्रतिनिधिसभा विघटनसँग सम्बन्धित रिट निवेदनको सुनुवाइ गर्न नमिल्ने भनी प्रश्न उठिरहेको थियो । यस प्रश्नले न्यायालयमा गम्भीर रूप लिइरहेको थियो ।सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन गरिएको सम्बन्धमा ३० थान रिट निवेदन दायर भएको थिए । ती रिट निवेदनमाथि आइतबार र सोमबार गरी दुई दिन बहस भएका थिए । बहसको क्रममा कानुन व्यवसायीहरूले न्यायाधीशहरू केसी र श्रेष्ठ ती रिट निवेदनको सुनुवाइ गर्न नमिल्ने भनी बारम्बार प्रश्न उठाएका थिए ।

यसैबीच, सर्वोच्च अदालत बार एसोसिएसनको मागबमोजिम प्रधानन्यायाधीश राणाले संवैधानिक इजलाससम्बन्धी नियमावली, २०७२ लाई संशोधन गरी वरिष्ठ न्यायाधीशलाई इजलासमा राख्नका लागि प्राथमिकता दिने वचन दिनुभएको छ । यही २३ गने पुनः शुरूदेखि नै बहस हुने भएको छ ।सर्वोच्च बारका सचिव ऋषिराम घिमिरेले दिएको जानकारीअनुसार नियमावलीमा हेरफेर गरी वरिष्ठ न्यायाधीशलाई संवैधानिक इजलासमा राख्नको लागि प्राथमिकता दिने प्रधानन्यायाधीशले वचन दिनुभएको हो । सचिव घिमिरेले अब यही जेठ २३ गते सोहीबमोजिम इजलास गठन हुने विश्वास व्यक्त गर्नुभयो ।