अधिकांश आइसोलेसनमा पूर्वाधारको अभाव


सुनील महर्जन, ललितपुर ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहलाई बेवास्ता गरी विभिन्न टोल र वडामा खोलिएका अधिकांश आइसोलेसनमा आवश्यक पूर्वाधारको अभाव रहेको पाइएको छ ।मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर खोल्दा घातक हुने चेतावनी दिएको छ । ललितपुरका विभिन्न स्थानीय तहसँगै देशभर नै कोरोना संक्रमणको जोखिम उच्च रहेको बेला वडास्तरमा आइसोलेनस खोल्ने क्रमले तीव्रता पाएपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

यस स्थितिमा ललितपुर महानगरपालिकाका विभिन्न टोल, वडामा खोेलिएका अधिकांश आइसोलेसन कक्षहरू पनि अन्य स्थानको भन्दा खासै फरक नरहेको पाइएको छ । आइसोलेसन कक्षमा स्वास्थ्यकर्मी, आवश्यक उपकरण, औषधि र बिरामीको अवस्था गम्भीर भएमा लैजाने अस्पतालसँगको समन्वय र प्रत्यक्ष निगरानीे कमी रहेको पाइएको छ ।

चिकित्सक डा. कृष्णगोपाल महर्जनसहित ललितपुर महानगरपालिका सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीको टोलीले विभिन्न आइसोलेसन कक्षको अनुगमन गर्ने क्रममा सो अवस्था पाइएको हो । यसैबीच समितिले बैठक बसेर त्यसरी खोलिएका आइसोलेसन कक्षमा आवश्यक सामग्रीको प्रबन्ध मिलाउन महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसमक्ष लिखितरूपमा ध्यानाकर्षण गराएको समितिका सदस्य एवं महानगरपालिका–१ का वडा अध्यक्ष निर्मल तण्डुकारले बताउनुभयो ।समितिले महानगरपालिकाको वडा २८ र २९ को संयुक्त आइसोलेसन, ११ वडास्थित श्री चण्डी माविमा खोल्न लागिएको आइसोलेसनको अवस्थाबारे अनुगमन गरेको थियो ।

त्यसैगरी, समितिले महानगरपालिका–२७ स्थित सुनाकोठी, बागडोलस्थित ज्यापु समाजको भवनमा खोलिएको आइसोलेसन कक्ष, पुल्चोकस्थित अक्षेश्वर महाविहारमा खोलिएको आइसोलेसन कक्षको पनि अनुगमन गरी आवश्यक जानकारी लिएको थियो ।आइसोलेसन कक्ष खोल्ने विभिन्न संघसंस्था, समुदाय र वडाको पहलकदमीलाई राम्रैरूपमा लिइए तापनि अधिकांश आइसोलेसनमा आवश्यक मापदण्ड पालना गर्न कठिनाइ भएको समितिका संयोजक दिनेश कार्कीले बताउनुभयो ।

उहाँले सबैभन्दा ठूलो समस्या आइसोलेसनमा बस्ने क्रममा स्वास्थ्य अवस्था जटिल बन्दै गएमा लैजान अस्पतालसँग समन्वय नभएको र अक्सिजनको व्यवस्था पनि पर्याप्त मात्रामा नभएको पाइएको बताउनुभयो ।विभिन्न संस्थासँग मिलेर महानगरपालिकाले सुनाकोठीमा सञ्चालन गरेको आइसोलेसनमा पूर्वाधारहरू व्यवस्था अन्य आइसोलेसनको तुलनामा सन्तोषकजनक पाइएको अनुगमन टोलीले बताएको छ । तर, बागडोलस्थित ज्यापु समाज भवनमा सञ्चालित आइसोलसन कक्षमा कोठा र छुट्टाछुट्टै शौचालय नभएकाले कोरोना संक्रमण भएका सामान्य बिरामीहरूका लागि मात्र केन्द्रित रहेको बताइएको छ । ज्यापु समाजको भवनमा जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहर व्यवस्थापनको विषय चुनौतीपूर्ण रहेको साझेदार संस्था सुन्दर ढोकाका प्रतिनिधिले बताए ।

यसैबीच, महानगरपालिकाले सञ्चालन गरेको आइसोलेसनमा बसिरहेकाहरूले श्यया नपाएको विषयमा समितिले सोमबार पाटन अस्पतालमा ध्यानाकर्षण गराएको थियो । पाटन अस्पतालका निर्देशक रवि शाक्यले अस्पतालले श्यया, अक्सिजन र भेन्टिलेटरस्थित हेरेर भर्ना लिइरहेको जानकारी दिनुभयो । अस्पतालमा कोभिड वार्डमा हाल २ सय १०, संघन उपचार कक्षमा २१ र भेन्टिलेटरमा १४ बिरामी रहेको जनाएको छ ।उहाँले वैशाखको तेस्रो सातादेखि जेठ पहिलो सातासम्ममा अस्पतालको क्षमताभन्दा बढी बिरामी भर्ना हुन आएकाले समस्या परेको बताउँदै आइसोलेसनमा खटिने स्वास्थ्यकर्मीको क्षमता वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।टोलटोलमा आइसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामग्रीको ठूलो खपत हुने र अस्पतालमा उपचार सामग्रीको अभाव हुन सक्ने स्थिति सिर्जना भएकाले मन्त्रालयले चिन्ता व्यक्त गर्दै आएको छ ।