राष्ट्रपति म्याक्रोंद्वारा मालीबाट सेना फर्काउने धम्की


पेरिस, (एजेन्सी) ।

फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोंले आइतबार यदि मालीमा बढिरहेको राजनीतिक अस्थिरताको कारण मुलुक बृहत् इस्लामिक अतिवादतर्फ धकेलिएको खण्डमा त्यहाँबाट फ्रेन्च फौज फिर्ता लाने चेतावनी दिएका छन् । पश्चिमी अफ्रिकी मुलुक मालीमा नौ महिनाअघि मात्र दुईपटक सैनिक विद्रोह भइसकेको छ ।

फ्रान्सले मालीको साहेल क्षेत्रमा आफ्नो ५ हजार १ सय जना सेना तैनाथ गरेको छ । सो क्षेत्र इस्लामिक लडाकुविरुद्धको युद्धको अग्रमोर्चा मानिन्छ ।सन् २०१३ देखि साहेल क्षेत्रमा इस्लामिक लडाकुहरूसँग भिड्नकै निम्ति फ्रान्स सरकारले माली, मौरिटानिया, नाइजर, बुर्किना फासो र चाडमा सहयोगी फौज तैनाथ गरेको हो ।म्याक्रोंले ‘जोनल डु डिमान्चे’ अखबारलाई बताएका छन्– ‘मैले क्षेत्रीय नेताहरूलाई फ्रान्सले प्रजातान्त्रिक वैधानिकता नभएको मुलुकहरूलाई सहयोग र समर्थन नगर्ने बताइसकेको छु ।

साथै, फ्रान्सको अफ्रिकामा सधैभरि आफ्नो फौज राख्ने कुनै नियत छैन ।दशकौंदेखि फ्रान्सले अफ्रिकाका आफ्ना पूर्व औपनवेशिक मुलुकहरूमा सशस्त्र लडाकुहरूविरुद्ध संघर्ष गर्न फौज पठाउने र लडाकु विमान प्रयोग गर्ने गर्दै आएको हो ।शुक्रबार सैनिक विद्रोहका नाइके कर्णेल आस्सिमी गोइतालाई संवैधानिक अदालतले मालीका राष्ट्रपति घोषणा गरेको हो । उनले त्यसको दुई दिनअघि आफैंलाई अन्तरिम नेता घोषणा गरेका थिए । उनले राष्ट्रपति बाह ड र प्रधानमन्त्री मोक्तार ओउआनेलाई अपदस्थ गरेका हुन् ।