अमेरिकी फौजलाई सघाउने दोभाषेको सुरक्षा गरिने


काबुल, एजेन्सी ।

अमेरिकाले अमेरिकी सेनाका लागि दोभाषेका रूपमा काम गर्ने अफगानहरूलाई चाँडै नै सुरक्षित गन्तव्यमा लाने योजना बनाइरहेको छ । एक वरिष्ठ अमेरिकी जनरल तथा संयुक्त सेना प्रमुखका अध्यक्ष मार्क मिल्लीले आगामी सेप्टेम्बरमा अमेरिकी फौज अफगानीस्तानबाट फिर्ता लगिनुअघि नै यो योजना पूरा गरिने जानकारी दिएका छन् । मिल्लीले महवपूर्ण दोभाषे तथा अन्य थुप्रै कर्मचारीहरूलाई तालिवान लडाकुहरूले आक्रमणको लक्ष्य बनाइन सक्ने भएकाले अमेरिकाले तिनीहरूको सुरक्षा गर्न खोजेको बताएका छन् ।

विशेष कार्यक्रमअन्तर्गत अमेरिकामा बसाइसराइ गर्ने उद्देश्यले करिब १८ हजार अफगान नागरिकले अमेरिकी भिषाका लागि आवेदन दिएका छन् । जनरल मिल्लीले अमेरिका र अन्तर्राष्ट्रिय गठबन्धन फौजलाई सहयोग गर्ने थुप्रै अफगानीको ज्यान खतरामा पर्न सक्ने बताएका छन् । उनले अमेरिकी विदेश विभागले यस विषयमा आफ्नै ढंगले गोप्यरूपमा काम कारबाहीहरू अघि बढाइरहेको पनि जानकारी दिएका छन् ।

गत अप्रिलमा अमेरिकी राष्ट्रपति जोय बाइडेनले आगामी ११ सेप्टेम्बरसम्ममा अमेरिकी फौजले अफगान भूमि छाडिसक्ने घोषणा गरेका थिए । २० वर्षसम्म अमेरिकी फौज अफगानिस्तानको सैनिक गतिविधिमा संलग्न रहेको थियो । ९ हजार ६ सय जना सेनाको शक्तिशाली नेटो अफगान मिसनअन्तर्गत त्यहँँ अझै कम्तिमा २ हजार ५ सय जना अमेरिकी फौज रहेको छ ।