चीनसँग सम्पूर्ण मुलुक मिलेर भिड्नुपर्छ:पूर्व प्रम केबिन रड


सिड्नी, एजेन्सी ।

अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केबिन रडले विश्वका मुलुकहरूलाई चीनको बढ्दो आर्थिक तथा भूराजनीतिक हस्तक्षेप र दबाबविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । उनले यदि एकल प्रतिकार गर्न खोजिएको खण्डमा बेइजिङबाट संजाय पाउनुबाहेक अन्य विकल्प नरहेको पनि बीबीसीलाई बताएका छन् । रडले पश्चिमी मुलुकका सरकारहरू चीनलाई मानव अधिकार लगायतका विभिन्न विषयमा चुनौती दिन डराउनु नहुने विचार पनि व्यक्त गरेका छन् ।

बीबीसीको टकिङ बिजिनेस एसिया प्रोग्रामलाई रडले भनेका छन्– ‘विश्वभरिका मुलुकहरूले चीनको बढ्दो प्रभावका कारण सिर्जित नयाँ भूराजनीतिक स्थिति देखिरहेका छन् । यदि, तपाईंको चीनसँग असहमति छ भने विश्वका सम्पूर्ण मुलुक एक्लै–एक्लै अघि बढ्नुका सट्टा संयुक्तरूपमा आउनुपर्छ । किनभने, यदि तपाईं एक्लै हुनुहुन्छ भने चीनलाई तपाईंलाई प्रभाावित पार्न सजिलो हुनेछ ।’दशकौंयता पहिलोपटक चीन र अस्ट्रेलियाबीचको सम्बन्ध अत्यन्तै नाजुक स्थितिमा पुगिरहेको बेला रडको यस्ता विचार सार्वजनिक भएको हो । एकले अर्कालाई लगातार थुप्रै आर्थिक र कुटनीतिक प्रहार गरेकै कारण चीन र अस्ट्रेलियाबीचको सम्बन्ध बिग्रिएको हो । फलतः अस्ट्रेलिया चीनसँग गरिएका बृहत् पूर्वाधार परियोजना बेल्ट एन्ड रोड इनिसियटिभबाट अलगियो । साथै, अस्ट्रेलियाले चीनको दूरसञ्चार कम्पनी हुआवेलाई मुलुकको ५–जी सञ्जाल निर्माणमा पनि प्रतिबन्ध लगायो ।

यसैबीच, अस्ट्रेलियाले कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन अनुसन्धान गरिनुपर्ने भनेपछि चीनसँगको सम्बन्ध अझै चिसिएको हो ।यसको जवाफमा चीनले अस्ट्रेलियाबाट आयात हुने गरेका वाइन, गाईको मासु, समुद्री खाद्यपदार्थ लोबस्टर र जौ लगायतका वस्तुमाथि प्रतिबन्ध लगाएको छ । चीनले क्यानवेरासँगको प्रमुख आर्थिक वार्ता पनि रोकेको छ । सन् २००७ देखि २०१३ बीच दुईपटक अस्ट्रेलियाको राजनीतिक नेतृत्व गरिसकेका रडले वर्तमान अस्ट्रेलियन सरकारको चीनप्रतिको व्यवहार प्रत्युत्पादक खालको रहेको प्रतिक्रिया पनि दिएका छन् ।