कोरोना संक्रमितको अनुभव ‘पहिलो औषधि त आत्मबल नै रहेछ’


नेपाल समाचारपत्र, पर्वत

नेपालमा पछिल्लो दिन कोरोना संक्रमणभन्दा संक्रमण मुक्त हुने दर बढ्न थालेको छ । संक्रमण मुक्त हुने दर बढेपछि कोरोना संक्रमितहरूमा आत्मबल बढ्न थालेको छ । संक्रमणको समयमा दिनहरू कठिन भएपछि मुक्त भएका मानिसहरू खुसी देखिन्छन् । उनीहरूले संक्रमण मुक्त भएपछि अनुभवहरू सामाजिक सञ्जालमा पनि व्यक्त गरिरहेका छन् ।

यसमध्येकै एक हुन् पर्वत सदरमुकाम कुस्मा बजारका शिक्षक गोविन्द पौडेल पनि । कुस्माको एक निजी विद्यालयका शिक्षक पौडेललाई कोरोना संक्रमणको पुष्टि भएपछि उनी उपचारका लागि पर्वत अस्पतालमा भर्ना हुनुभयो । अस्पतालमा तीन दिनको बसाइपछि उहाँ घरमा नै आइसोलेसनमा बस्ने गरी फर्किनुभयो र करिब २० दिनमा संक्रणमुक्त बन्न सफल हुनुभयो ।संक्रमण पुष्टि भएपछि अस्पतालमा जाँदा उहाँ शुरूमा डराउनुभएको थियो । संक्रमणको दोस्रो लहरमा मानवीय हताहत बढ्दै गएको अवस्थामा आफू पनि त्यसैमा पर्न सक्ने शंकाले उहाँलाई अब बाँचेर फर्किन पाइएला भन्ने लागेको थिएन । तर, छोटो समय अस्पताल बसेर पनि घरमा फर्किएपछि घरमै बसेर कोरोनालाई जित्न सफल भएको अनुभव सुनाउनुभयो । ‘संक्रमणलाई परास्त गर्नुको पहिलो औषधि भनेको आत्मबल नै रहेछ ।’ उहाँले भन्नुभयो–‘संक्रमणको पुष्टि भएपछि अस्पतालमा जाँदा त अब बाँचेर घर फर्किन पाइएला भन्ने मैले सोचेको थिइनँ, अस्पतालमा स्वास्थ्यकर्मीको व्यवहार र उच्च मनोबलले पराजित गर्न सफल भएँ । उहाँ आत्मबल बढाउनको लागि स्वास्थ्यकर्मीको प्रोत्साहन, परिवारको माया र अरू सबैको शुभेच्छा प्रमुख हुने बताउनुहुन्छ ।

कुस्माकै अर्का शिक्षक अच्युत पौडेलले पनि करिब २० दिन होम आइसोलेसनमा बसेर कोरोनालाई जित्न सफल हुनुभएको छ । कोरोनाको औषधिका रूपमा आत्मबललाई नै लिएको बताउनुहुने पौडेल पनि संक्रमण भएको बेलामा आफन्त तथा साथीभाइले र परिवारको साथले पनि हौसला मिल्ने आफ्नो अनुभव सुनाउनुहुन्छ ।‘एक्लै आइसोलेसनमा बसेको बेलामा मन निकै आत्तिने रहेछ । समाचारहरू हेर्दा र सुन्दा अनि सामाजिक सञ्जालमा भाइरल हुनका लागि मनपरी तरिकाले निर्माण गरिएका सामग्री पढ्दा मनै धक्क हुन्थ्यो।’ उहाँले भन्नुभयो– ‘तर कोरोनालाई जितेका, पाको उमेरकाहरू पनि निको भएका तथा चौबिसै घण्टा संक्रमितको सेवामा खटिएका चिकित्सकलाई सम्झिँदा हौसला बढेर आउने रहेछ ।

त्यस्तै, कोरोना संक्रमणको पहिलो लहरमै संक्रमित बन्नुभएका अर्का शिक्षक नवराज शर्मा पनि चिकित्सकको निरन्तरको सेवा र आफन्तजनको मायाका कारण बढेको आत्मविश्वासले नै आफूले कोरोनालाई जितेको बताउनुहुन्छ ।उहाँ संक्रमित हुने बेलामा पर्वतमा फाटफुट मात्र अन्य संक्रमित भेटिने गरेका थिए । अहिले टोल–टोलमा संक्रमित भेटिने गरेको भए पनि शुरूआती चरण भएका कारण आफूलाई अर्कै नजरले हेर्ने हुन कि ? भन्ने चिन्ता भए पनि सबैको माया पाएका कारण नै आफू कोरोनाविरुद्धको लडाइँमा विजयी बनेको अनुभव सुनाउनुभयो ।