पूर्वमन्त्रीद्वारा ५० थान अक्सिजन सिलिन्डर वितरण


विनोद सिंह विष्ट, बैतडी ।

पूर्वअर्थराज्यमन्त्री तथा निवर्तमान सांसद दामोदर भण्डारीले बैतडीका १० वटै स्थानीय तहलाई अक्सिजन सिलिन्डर वितरण गर्नुभएको छ । कोरोनाका बिरामीहरूको उपचारमा सहज होस भनेर सांसद भण्डारीले व्यक्तिगत रूपमा सहयोग संकलन गरेर ५० थान अक्सिजन सिलिन्डर, २० थान आइसोलेसन बेड र ५० हजार मास्क खरिद गरी वितरण गर्नुभएको हो ।

खरिद गरिएका अक्सिजन सिलिन्डर प्रत्येक स्थानीय तहमा ५-५,आइसोलेसन बेड २-२ र मास्क ५-५ हजारका दरले वितरण गर्न लागिएको निवर्तमान सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले जानकारी दिनुभयो ।यो कुनै सरकारी अनुदानबाट नभई, माननीयले व्यक्तिगत रूपमा सहयोग संकलन गरेर खरिद गरिएको हो उहाँले भन्नुभयो– ‘उहाँले व्यापारी, व्यवसायी, समाजसेवीवाट सहयोग संकलन गरेर जिल्लाका लागि अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्री पठाउनुभएको हो, ती सामग्री वितरणको काम चलिरहेको छ ।हालसम्म जिल्लाको सुर्नया गाउँपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा सिलिन्डर वितरण भइसकेका छन् । अन्य पालिकाहरूमा पनि अक्सिजन सिलिन्डर वितरणको काम भइरहेको स्वकीय सचिव भण्डारीको भनाइ छ । साथै, ५० हजार मास्क वितरणको काम पनि सँगसँगै भइरहेको उहाँले बताउनुभयो ।यसका साथै २० वटा आइसोलेसन बेड वितरण गरिने भएको छ । आइसोलसन बेड केही दिनमै जिल्ला पुग्ने र त्यसपछि वितरण गरिने जनाइएको छ ।

कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि अक्सिजन सिलिन्डर र विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराइएको पूर्वअर्थराज्यमन्त्री तथा निवर्तमान सांसद दामोदर भण्डारीले बताउनुभयो ।कोरोना संक्रमण भएर अक्सिजन अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भनेर अक्सिजन सिलिन्डर उपलब्ध गराइएको हो उहाँले भन्नुभयो–महामारीको बेला जिल्लामा अक्सिजन र स्वास्थ्य सामग्रीको अभाव नहोस् भनेर सबै स्थानीय तहमा वितरण गर्न लागेका हौं ।अक्सिजन अभाव भएका बेला स्थानीय तहमै अक्सिजन सिलिन्डर उपलब्ध भएपछि अब कोभिडका गम्भीर बिरामीहरूको उपचारमा राहत मिल्ने दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले बताउनुभयो।दोगडाकेदारमा यसअघि नै कोभिड अस्थायी अस्पताल सञ्चालनमा छ उहाँले भन्नुभयो– ‘महामारीको यो अवस्थामा अक्सिजन पाउन निकै चुनौतीपूर्ण थियो, माननीयज्यूले अक्सिजन सिलिन्डर उपलब्ध गराएपछि अब उपचार सहज हुनेछ ।सांसद भण्डारीकै पहलमा केही दिनअघि जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापनाका लागि अर्थ मन्त्रालयबाट १ करोड ५० लाख बजेट विनियोजन भएको थियो ।