गुल्मीमा जेठ २४ गतेसम्म निषेधाज्ञा


गुल्मी, (नेस)
जिल्ला निषेधाज्ञाको समय जेठ २४ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जिल्लामा गत वैशाख १८ गते रातिदेखि जारी हुँदै आएको निषेधाज्ञाको समय शनिबार राति १२ बजे सकिँदै छ । कोरोना संक्रमणको दोस्रो लहर नेपालमा तीव्र गतिमा फैलिरहेकाले त्यसको सर्तकतास्वरूप जिल्लामा निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।
यो अवधिमा अत्यावश्यक उपभोग्य खाद्य वस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामाग्रीका पसलहरू बिहान ७ देखि ९ बजेसम्म खुलाउन पाइने भएको भएको छ ।
निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालवाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरूपमा रोक लगाइएको छ ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक नागरिकहरू घरबाहिर ननिस्कन आग्रह गरिएको छ । अस्पताल, औषधि पसल २४सै घण्टा खुला रहनेछन् । तोकिएका क्षेत्रबाहेक अन्य सम्पूर्ण क्षेत्र बन्द रहने निर्णय भएको छ ।