सरकारको चुनावी मानसिकता


सरकारले शनिबार अध्यादेशमार्फत घोषणा गरेको बजेट चुनावमा केन्द्रित छ । सरकार हरेक कदम चुनावमा आफ्नो पक्षलाई जिताउँनुछ भन्ने सोचका साथ चालिरहेको छ । निर्वाचनमा प्रभाव पार्ने जमातलाई सुटुक्क कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यसमेत शुरू गरेको छ । शुक्रबार विराटनगरको तीनपैनी चोकस्थित एक सिनेमा हलमा उद्योगीहरूलाई मात्र सुटुक्क बोलाएर कोभिड–१९ विरुद्धको खोप लगाइएको घटनाले यस मुलुकमा सामान्य जनताको बाँच्न पाउने अधिकारमाथि सरकारले कुठाराघात गरेको पुष्टि हुन्छ । उद्योगीहरू हरेक हिसाबले पहुँचमा रहेका हुन्छन् । प्रदेश सरकारले सुटुक्क उद्योगीहरूलाई बोलाई गोप्यरूपमा खोप लगाइरहेको अवस्थामा स्थानीयले चाल पाई आफूहरूलाई पनि अवसर दिनुपर्ने माग गरेपछि सम्बन्धित पक्षको भागाभाग भएको थियो ।
मुलुकमा अहिले नौ लाख ज्येष्ठ नागरिक दोस्रो खोपको प्रतीक्षामा छन् । फ्रन्ट लाइनमा रहेका प्रहरी, स्वास्थ्यकर्मीलगायत यसको पर्खाइमा छन् । उद्योगीहरूभन्दा पनि ज्येष्ठ नागरिक, प्रहरी, स्वास्थ्यकर्मी, सर्वसाधारणले खोपको लागि प्राथमिकता पाउनुपर्ने हो । यस्ता व्यक्तिहरू प्रत्यक्षरूपमा कोभिड–१९ को संक्रमण भएकाहरूको सम्पर्कमा रहनुपर्ने हुन्छ । हरेक दिनजसो सेवा गर्नको लागि खटिनुपर्नेहरूलाई पहिलो प्राथमिकता दिनुपर्नेमा ठूलाबडा, पहुँचवालालाई मात्र दृष्टि दिएर हरेकजसो सुविधा दिने सरकारको कार्य निश्चय पनि भत्र्सनायोग्य छ । सामान्य जनताहरू यतिखेर घरमा नै थुनिएर बस्नुपरेको छ । यही मौका छोपेर सरकारले दिने सुविधालाई पहुँचवालालाई छानीछानी बाँडिरहेको छ । संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहमा रहेका शक्तिवालाहरूले आफन्त, पहुँचवाला तथा सहयोगको आदान–प्रदान गर्नसक्नेलाई छानी–छानी खोप लगाइसकेका छन् ।

कतिपयले त खोपलाई शक्तिवालाको आफन्तको घरमा नै लगेर लगाइदिएका उदाहरण पनि प्रशस्त छन् । अस्पतालमा बढी मात्रामा सर्वसाधारणहरू बिरामी भएर छटपटाइरहेका छन् । अक्सिजनको अभाव भएको समय पनि धेरै समय भइसकेको छ । यसको सुधार पनि खासै भएको अवस्था छैन । पहुँचवालालाई भने जताबाट भए पनि अक्सिजन पनि उपलब्ध गराइन्छ । सर्वसाधारणहरू भने जुनसुकै सुविधा पाउनबाट पनि वञ्चित हुनुपर्ने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरिरहँदा पोखरामा अक्सिजनको अभावका कारण ६ जना सर्वसाधारणको मृत्यु भएको थियो ।पहिला जनता बचाउनुपर्छ अनि मात्र अन्य काम गर्नुपर्छ भन्ने विषय बुझ्न आवश्यक छ । पहुँचवालाहरू एउटा कोठाबाट अर्को कोठामा जाँदा पनि मास्क फेर्ने गर्छन् । छिनछिनमा नै सेनिटाइजर दल्ने गर्दछन् । सर्वसाधारणहरू भने एउटा माक्स पनि धोएर लगाउने गर्दछन् । प्रतिनिधि सभाका लागि आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्नेगरी सरकारले घोषणा गरिसकेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले सम्बोधन गर्दा अब ३ करोड १४ लाख जनतालाई पुस महिनाभित्रमा खोप लगाउने कार्यक्रम रहेको घोषणा गर्नुभएको छ । यो चुनावी नारा मात्र भएको सबैले बुझ्नसक्ने विषय हो । सरकारको काम गराई पहुँँचवालालाई खोजी–खोजी सहयोग गर्ने खालको छ भने प्रधानमन्त्रीको भनाइले मात्र विश्वास गर्ने कुनै आधार देखिँदैन । उधारो आश्वासन दिनुभन्दा अस्पतालहरूमा छट्पटाइरहेकालाई तत्काल बचाउन पहल गर्दामात्र सर्वसाधारणले विश्वास गर्नेछन् ।