कोरोनाविरुद्ध अमेरिकामा नेपाली पहल


काठमाडौं, (नेस)

अमेरिकामा रहेका नेपालीहरूले नेपालमा कोरोनाबाट पीडितका लागि सहयोग जुटाउन राजनीतिक तथा सामाजिक अभियान शुरू गरेका छन् ।‘एक सय एक जना नेपालीको हस्ताक्षर गरेर हामीले राष्ट्रपति, सभामुख, क्यालिफोर्नियाका सिनेटर डाइन फाइनस्टाइन, क्यालिफोर्निया राज्यकै गभर्नर गाभिन न्युसमलगायतलाई सहयोगको याचनाका साथ पत्र लेखेका छौं’ –मदरल्यान्ड नेपालका अध्यक्ष अनिल पाण्डेले बिहीबार नेपाल समाचारपत्रलाई बताउनुभयो ।

यसैगरी, हिमानी ट्रष्टका अध्यक्ष हरि शर्मा, अनलाइन पेटिसन चेन्ज ओआरजीलगायतले पनि सहयोगका लागि यस्तै अभियान शुरू गरेको पनि पाण्डेले जानकारी दिनुभयो ।गत शुक्रबार राष्ट्रपति जो बाइडेनलगायतलाई लेखिएको पत्रमा भनिएको छ– ‘कोभिडविरुद्ध लड्न नेपालका लागि २७ लाख २० हजार अमेरिकी डलरको सहयोग प्रदान गरेकोमा अमेरिकी सरकारप्रति आभार प्रकट गर्दै खोप खरिदका लागि थप सहयोग गर्न अनुरोध गर्दछौं ।’

पत्रमा कोभिडको दोस्रो लहरले ठूलो परिमाणमा नेपाली पीडित बनेको, यो लहर शुरू भएपछि परीक्षण गरेकामध्ये ४६ प्रतिशतमा पोजिटिभ देखिएको, पाँच प्रतिशतभन्दा बढी संक्रमित उच्च जोखिमको अवस्थामा रहेको स्मरण गराइएको छ । अक्सिजन, पीपीई, औषधि र खोपका लागि अमेरिकी सहयोग अनिवार्य भएको अभियानकर्ता नेपालीहरूले उल्लेख गरेका छन् ।