हतियार र सवारीसाधन खरिद गरिने


काठमाडौं, नेस

सरकारले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका लागि आउँदो वर्ष हतियार र सवारीसाधन खरिद गर्ने भएको छ । अर्थमन्त्री बिष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गर्दै सुरक्षा निकायले पाउँदै आएको रासनपानीमा १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गर्नुभएको छ । तर, उनीहरुको तलब भने वृद्धि गरिएको छैन ।

आगामी वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले भारत र चीनसँग सीमा जोडिएको क्षेत्रमा सुरक्षा तैनाथी बढाउन थप १ सय २० बोर्डर आउटपोस्ट स्थापना गर्ने घोषणा गर्नुभएको छ । सीमा सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरी बलले गर्दै आएको छ ।विपत् व्यवस्थापनमा अग्र मोर्चामा खटिँदै आएको नेपाली सेनालाई विपत् व्यवस्थापनमा अब्बल बनाउन उच्च किसिमको तालिम सञ्चालन गर्ने र त्यसका लागि चाहिने आवश्यक बजेटसमेत विनियोजन गरेको जानकारी दिनुभएको छ ।हरेक वर्ष नेपालमा हिउँद याममा फैलने डडेलो नियन्त्रणका लागि नेपाली सेनाले प्रयोग गर्ने गरी पानी बोक्ने बकेटसहितको हेलिकोप्टरको व्यवस्था गर्ने अर्थमन्त्री पौडेलले घोषणा गर्नुभएको छ । डडेलो नियन्त्रणका लागि कति हेलिकोप्टर परिचालन गरिने भन्ने कुरा बजेटमा उल्लेख गरिएको छैन ।नेपाली सेनाले सञ्चालन गर्ने नेसनल डिफेन्स विश्वविद्यालयलाई अझै परिष्कृत गर्दै लैजानका लागि चाहिने आवश्यक बजेटसमेत व्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभएको छ ।

राष्ट्रियताको भावना जागृत गराउन राष्ट्रिय सेवा दललाई अझै सक्रिय बनाएर अगाडि बढाउन थप बजेट बिनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिनुभएको छ । सरकारले आगामी वर्ष ५० लाख नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने बजेट भाषणमार्फत घोषणा गरेको छ ।