कोरोना संक्रमित आनन्दले श्वास फेर्दै अक्षेश्वरको आइसोलेसनमा

5.8k
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर पुल्चोकस्थित अक्षेश्वर महाविहारमा आईसलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । ललितपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघको सहयोग, अक्षेश्वर महाविहार संरक्षण समिति, आरम्भ फाउण्डेशनको सहकार्यमा आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको हो । बेलैमा आइसोलेसन कक्ष नपाएर कोरोना संक्रमित र तिनका परिवारले अनेक दुःख, कष्ट भोग्नुपरिरहेको स्थितिलाई मध्यनजर गरी आइसोलेसन कक्ष सञ्चालन ल्याइएको संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले बताउनुभयो ।

पुल्चोकको अग्लो भागमा अवस्थित सो महाविहारको दक्षिणतर्फको भवनलाई आइसोलेसन कक्षको रुपमा परिणत गरिएको हो । तीन तल्ले सो भवनमा ३० वटा बेडहरु राखिएको छ।महिला र पुरुषका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको छ । आवश्यकताका अनुसार थप बेडहरु पनि राखिने संघका वरिष्ठ उपाध्यक्ष एवं व्यवस्थापन समितिका संयोजक विश्वराज बज्राचार्यले जानकारी दिनुभयो । घरमा कोठा, र अलग शौचालयको अभावले ‘होम’ आइसोलेसनमा बस्न नसकेका वा पुरै परिवार संक्रमित भएका र स्वास्थ्य अवस्था सामान्य भएकालाई लक्षित गरी सो आइसोलेसन सञ्चालनमा ल्याइएको हो। आइसोलेसनमा बसिरहँदा अकस्मात कुनै बिरामीको स्वास्थ्य स्थिति जटिल बन्दै गएमा तत्काल अस्पताल पु¥याउने व्यवस्था पनि मिलाइएको छ ।

कोरोना संक्रमित मानिसहरु कक्षमा बस्न आइरहेका छन्। वरिष्ठ उपाध्यक्ष बज्राचार्यका अनुसार संक्रमितलाई दैनिक पौष्टिक आहार र निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । आइसोलेसनमा बस्ने प्रत्येक व्यक्तिलाई अलग/अलग रुमाल, टुथपेष्ट, चप्पल लगायत दैनिक अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ । दिनमा समय कटाउन सजिलो होस् भनेर क्यारिम बोर्ड, चेस लगायत ‘इनडोर गेमका सामग्रीहरु पनि राखिएका छन् । इन्टरनेट र टिभीको सुविधा पनि छ भने हरेक दिन बिहान योगा कक्षा सञ्चालन भइरहेको छ । फाउन्डेशनको सहयोगमा संक्रमितहरुको हेरविचार गर्न दुई जना नर्स २४ घण्टा खटिरहेका छन् भने हरेक दिन एक पटक डाक्टर राउण्डमा आउने गरेका छन् ।

आइसोलेसन कक्षमा प्रदान गरिएको सेवा, वरपरको आध्यात्मिक वातावरणले गर्दा त्यहाँ बस्ने बिरामीले निकै शान्तिको अनुभूति गर्ने गरेको व्यवस्थापन कार्यमा सघाइरहनुभएका संघका कार्यसमिति सदस्य सुजन बज्राचार्यले बताउनुभयो ।
ध्यानको अभ्यास, बुद्ध धर्म सम्बन्धी गोष्ठी र प्रवचनका, लागि बनाइएको महाविहारको भौतिक पूर्वाधार महामारीको बेला राम्रो कामको लागि प्रयोगमा आउनुले विहार सुधारका पदाधिकारीहरु पनि खुशी प्रकट गरेका छन् ।
‘ महामारीको बेला आइसोलेसन नपाएर मानिसले भोग्नुपरिरहेको कष्ट बयान गरेर साध्यै छैन।यस्तो बेलामा यस कक्षले आइसोलेसनको अभावलाई केही हदसम्म कम गर्ने विश्वास गरेका छौं ।’ अध्यक्ष न्याछ्योंले भन्नुभयो।