दैनिक उपभोग्य वस्तुमा मनपरी


विमल विष्ट, डोटी

कोरोना सङ्क्रमणका कारण डोटीमा बन्दाबन्दी शुरु भएपछि यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, बीपीनगर, गोपघाटलगायत ग्रामीण क्षेत्रमा अघिल्लो महिनाको तुलनामा शतप्रतिशतसम्म बढाइएको हो ।

यहाँका व्यपारीले खाने तेल प्रतिलिटर १६५, दाल, चामल र अन्य तरकारीमा पनि २० देखि ३० रुपियाँसम्म बढाएर व्यापारीले बेच्ने गरेको गुनासो उपभोक्ताको रहेको छ । कोरोना सङ्क्रमणको समयमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिन थालेको दिपायल सिलगढी नगरपालिका–४ गैराका कैलाश विकले बताउनुभयो । ‘कोरोनाका बेला सबै बन्द छ, बजार अनुगमन गरिएको छैन, व्यापारीले मनपरी मूल्य लिन थालेकाले उपभोक्ता मारमा परेका छन् ।’ –उहाँले भन्नुभयो ।यहाँका बजारमा विभिन्न खाद्यवस्तु तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी हुने गरेको कुरा पटक–पटक उठ्ने भए पनि त्यसको रोकथाम तथा नियन्त्रणका लागि खासै पहल नहुने गरेको अर्का स्थानीय मानबहादुर बमले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘बन्दाबन्दीलगायत अन्य समयमा पनि बजारमा पसलैपिच्छे सामानको मूल्य फरक हुन्छ, कसैले वास्ता गर्दैन अहिले झन् कोरोनाले सबै बन्द छ, कसले अनुगमन गर्नु ।’ जिल्ला प्रशासन कार्यालय डोटीले भने यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको विषयमा कुनै पनि निकायबाट गुनासो तथा उजुरी नआएको जनाएको छ । बजार अनुगमनको जिम्मा पाएका जिल्ला प्रशासन, नगरपालिका, जिल्ला प्रहरी, उपभोक्ता अधिकार मञ्च तथा उद्योग वाणिज्य संघले खासै चासो नदेखाएका कारण यहाँका बजारमा सामानको मूल्यमा मनपरी हुँदै आएको राजपुरका स्थानीय होटल व्यवसायी हर्क साउदले गुनासो गर्नुभयो ।

उता उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बजारमा दैनिक उपभोग्य सामानको मूल्यवृद्धि गरिएको प्रमाणसहित गुनासो वा उजुरी आए तत्काल कारबाहीका लागि सिफारिस गरिने बताउनुभयो । ‘मानिसलाई ज्यान जोगाउन गाह्रो भएको अवस्थामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गर्नेलाई कारबाही हुन्छ, मूल्य वृद्धि गरेर सामान बेच्नेको नाम फोनमै टिपाए पनि हुन्छ ।’ –उहाँले भन्नुभयो ।त्यस्तै, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि गरेको विषयमा तत्काल अनुगमन गरिने बताउनुभयो ।जिल्लाका प्रमुख बजारमा दशैंतिहारको समयमा मात्रै अनुगमन हुने तथा अरू बेला नहुने गरेका कारण पनि यहाँका बजारमा सामानको मूल्यमा एकरूपता नहुने गरेको उपभोक्ताको बुझाइ रहेको छ ।