रसुवामा निषेधाज्ञा थप ७ दिन थपियो


रसुवा, (नेस)

रसुवामा कोरोना संक्रमण बढ्दै गएपछि थप ७ दिन निषेधाज्ञा थप गरिएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी) बिहीबार बसेको बैठकले पुनः ७ दिन निषेधाज्ञा थपेको हो ।
जेठ १३ गतेबाट जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो । यसअघि कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि गएको वैशाख २७ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
निषेधाज्ञाको समयमा खाद्य वस्तु तथा पशुपन्छीका दाना, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दुग्ध डेरीजन्य, माछा, मासु, पानी, निर्माण सामग्रीलगायतका अत्यावश्यक पसल व्यवसाय बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र सञ्चालन गर्न दिइएको छ । औषधि एवं स्वास्थ्य सामाग्रीका पसलहरु भने २४सै घण्टा खुला रहेका छन् ।