स्थानीय आरोप: कामदारले फैलाए कोरोना


धर्मेन्द्र बिसी, अछाम
भारतमा काम गरी फर्किएकाले आछाममा कोरोना फैलाएको स्थानीय तहहरूको आरोप छ । दोस्रो लहर समुदायस्तरमा फैलिएपछि नियन्त्रणबाहिर गएको समेत स्थानीय तहहरू बताउँछन् ।

कोभिड–१९ को दोस्रो लहर भारतमा तीव्ररूपमा फैलिएपछि त्यहाँ रोजगारीमा रहेका नेपाली घर फर्किने बेला सरकारले ध्यान नदिएकै कारण अछाममा कोरोना समुदायस्तरमा फैलिएको ढकारी गाउँपालिकाका अध्यक्ष धनबहादुर बुढाले बताउनुभयो । सरकारले कोभिड नियन्त्रण र रोकथाम गर्न निषेधाज्ञा गर्नुअघि नै भारतबाट ठूलो संख्यामा भित्रिसकेकाले कोरोना समुदायस्तरमा फैलिएको उहाँको भनाइ छ ।कोरोना नियन्त्रण गाउँपालिकाले प्रभावकारीरूपमा काम गरिरहेको पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले बताउनुभयो । गाउँपालिकाभित्रका कोरोना संक्रमितलाई सुरक्षित होम आइसोलेसनमा बस्न र कोरोनाको लक्षण देखिना साथ गाउँपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरी परीक्षण परामर्श लिने व्यवस्था मिलाइएको उहाँको कथन छ ।

भारतमा कोरोना भाइरसको भयावह अवस्था सिर्जना हुँदा नेपाल सरकारले सीमानाकाहरुमा परीक्षणको दायरालाई बढाएर संक्रमितको लागि सुरक्षित बासको व्यवस्था नगरेका कारणले पनि कोरोना समुदायस्तरमा सजिलै फैलिएको तुर्माखाद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माको दाबी छ । भारतबाट आएकाहरुले कोरोनाका लक्षण र चिह्नहरु देखा पर्दा समयमा परीक्षण नगराउने र संक्रमित भए दुव्र्यवहार हुने डरका कारण कोरोना समुदायस्तरमा तीव्ररूपमा फैलिएको हो ।संघीर सरकार र प्रदेश सरकारसँगै स्थानीय सरकार समयमै सचेत नहुँदा संक्रमण समुदायस्तरमा फैलिएको पञ्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत पदम माझीले बताउनुभयो । संक्रमित हुँदा समुदायले अपहेलना तथा दुव्र्यवहार गर्ने डरले कोरोनाका लक्षण देखिएकाले पनि परीक्षण नगराउने गरेको ढकारी गाउँपालिका–८ का स्थानीय कृष्ण उपाध्यायकोे भनाइ छ ।

होम क्वारेन्टाइनमा बस्छु भनेर घर आएकाले पनि स्वास्थ्य मापदण्ड पालना नगरेकाले कोरोना समुदायस्तरमा फैलिएको स्थानीयको निष्कर्ष छ ।कोभिडबाट हालसम्म अछाममा १५ जनाले ज्यान गुमाइसकेका छन् ।