स्वयम्भूरत्न अब सम्झनामा मात्र


गायक तथा संगीतकार स्वयम्भूराज शाक्यको ६४ वर्षको उमेरमा कोरोना संक्रमणबाट निधन भएको छ।बुद्धसम्बन्धी भजन र खासगरी नेपाल भाषाको गीतका लोकप्रिय गायक शाक्यको बुद्धजयन्तीको पूर्वसन्ध्यामा मंगलबार राति निधन भएको हो। शाक्यलाई कोरोना संक्रमण देखिएपछि गत वैशाख २६ गते बीपी स्मृति अस्पतालमा भर्ना गरिएको थियो। रेकर्डिध्र कार्य कठिन र दुर्लभ भएको ३ दशकअघिको समयमा एउटा कोठामा वाद्यवादक तथा गायक-गायिका र अर्को कोठामा प्रविधि र प्राविधिकका साथ नेपाल भाषाको मतिना बोलको गीत रेकर्ड गराएका शाक्य सो गीतबाटै लोकप्रियता कमाउन सफल भएका थिए। ओ प्रिय लिफः स्वयाः निकै लोकप्रियता कमाएको थियो। शाक्यले यो गीत गायिका सपनाश्रीका साथमा गाएका थिए।

सांस्कृतिक संस्थानबाट सेवानिवृत्त गायक शाक्य रेडियो नेपालका विशिष्ट श्रेणीका गायक थिए। लामो समय सांस्कृतिक संस्थानमा गायकका रुपमा जागिर खाएका उनले संस्थानमा आबद्व रहँदा थुप्रै रंगमञ्चका कार्यक्रमका साथै गीति नाटकका लागि गीत गाएका थिए। ३० कै दशकमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका शाक्यले रेडियो नेपालमा विभिन्न गीत रेकर्ड समेत गराएका थिए। त्यो समयमा रेडियो नेपालमा गीत रेकर्ड गराउनुलाई ठूलो भाग्यको विषय मानिन्थ्यो। रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि उनले पहिलोपटक तिमीलाई मैले चिनेर पनि बोलको गीत रेकर्ड गराएका थिए। उनी गीत गायन र रेकर्डिङ कार्य नै सहज नभएको समयदेखि हालसम्म पनि नयाँ शैली र सिर्जनामा तल्लीन रहँदै आएका थिए। ललितपुरवासी उनी आफ्नो टोलमा आयोजित एकल साँझको सफलतापछि विभिन्न समयमा गरी चार पटकसम्म एकल सांगीतिक साँझमा प्रस्तुत भएका थिए।उनले आफ्नो सांगीतिक करियर अगाडि बढाउने क्रममा पाँच गति अडियो एल्बम प्रकाशन गरेका थिए भने २ सय ५० भन्दा बढी गीत गाएका थिए। बुद्धसम्बन्धी थुप्रै भजन गाएका शाक्यले बुद्ध भजन श्रृंखला ज्ञानमाला भजन श्रृंखलामा पनि सहभागिता जनाएका थिए।

उनले गाएको रतन, जिके नं भतिचा माया, छं मुसुं न्हिला स्वःसा, अय् मयजु थन छकः स्व, मुसुक्क न्हिला हुँ, भिंंद्यः गुथियागु मूसःगु अय्ला, ओ प्रिय लिफः स्वयाः, घण्टाघरया क्वय्, वया ला छ थन माया मदुम्ह, जात्राया हुलय्, मिलेजूम्ह पासाया इहिपाया भ्वय्जस्ता थुप्रै नेपाल भाषाका गीतले लोकप्रिय छन्।गीत संगीत क्षेत्रको सेवा गरेवापत विभिन्न पुरस्कार तथा सम्मानबाट पुरस्कृत र सम्मानित हुँदै आएका शाक्यले नेपालका विभिन्न जिल्लाका साथमा तिब्बत, श्रीलंका, बंगलादेश, साउदी अरेबिया, जापान, हध्रकध्र, बैंकक पुगेर आफ्नो गीत संगीत प्रस्तुत गर्दै आएका थिए।स्वयम्भूराज र अर्का गायक चन्द्रमान शाक्य गायन जोडीका रुपमा जमेका थिए। कुनै समयमा यो गायन जोडीलाई नेपाल भाषाको गीत संगीतको क्षेत्रमा लक्ष्मीकान्त प्यारेलाल भन्ने गरिन्थ्यो। नेपाल भाषाको संगीत क्षेत्रमा यो जोडी भन्नासाथ हुरुक्कै हुने टन्नै थिए। खासगरी ललितपुरमा हुने सांगीतिक कार्यक्रममा स्वयम्भूराज चन्द्रमान सँगै उभिएनन् भने त्यो कार्यक्रम नै अधुरो मानिन्थ्यो। यो जोडीले वयाला छ थन, जात्राया हुलय्जस्तै थुप्रै नेपाल भाषाको गीतलाई लोकप्रिय बनाएका छन्।