खोप खरिद गर्न मेयरको ध्यानाकर्षण


नेपाल समाचारपत्र, ललितपुर

ललितपुर महानगरपालिका सामाजिक विकास समितिले खोपका लागि संघीय सरकारको भरमा मात्र नपर्न आग्रह गर्दै महानगरपालिका स्वयंले खोप खरिद गर्नुपर्ने भन्दै मेयर चिरिबाबु महर्जनको ध्यानाकर्षण गराएको छ ।महामारीका बेला कार्यपालिका बैठक नबोलाइएको स्थितिलाई मध्यनजर गरी समितिले पत्र पठाएर सो विषयमा ध्यानाकर्षण गराइएको हो । वैशाख ६ गते सोमबारयता कार्यपालिका बैठक बसेको छैन । समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढी रहेको समयमा महानगरपालिका स्वयंले खोप खरिद गर्नुपर्ने निर्णय गरेको हो । समितिका सदस्यको हस्ताक्षरसहितकोे निर्णय कपीसमेत राखेर मेयर महर्जनको ध्यानाकर्षण गराइएको हो ।

महानगरका १ देखि २९ वडामा एक सातादेखि सञ्चालित भेरोसेल खोप दिने कार्यक्रम बिहीबार सकिएको छ । पहिलो खोपमा नगरबासीको सहज पहुँच नभएकाले दोस्रो खोप वडामा वडामा दिइको थियो । पहिलो खोप नलिएका धेरै भएकाले पहिलो खोप कहिले आउँछ भनेर वडाबासीले सोधेर हैरान पारेको बताउँदै २४ वडाका वडाध्यक्षसमेत रहनुभएका विकास समितिका संयोजक दिनेश कार्कीले भन्नुभयो– ‘यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयको मात्र भरमा बस्नु उचित नहुने समितिको निष्कर्ष रहेकाले मेयरको ध्यानाकर्षण गराइएको हो ।’समितिले महानगरपालिका र वडाद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा आवश्यक सामग्री सहयोग गर्न पनि मेयरको ध्यानाकर्षण गराएको छ ।

महानगरपालिकाले विभिन्न गैरसरकारी संस्थासँग मिलेर बागडोलस्थित ज्यापू समाजको भवनमा आइसोलेसन सञ्चालन गरेको छ । विभिन्न वडाहरूले पनि आइसोलेसन सञ्चालनमा ल्याएको छ । त्यसै गरी, ललितपुर उद्योग वाणिज्य संघ र च्यासलका स्थानीयले आइसोलेसन सञ्चालन गरेको छ । ती आइसोलेसनलाई अत्यावश्यक सामग्री सहयोग गर्न पनि समितिले मेयर महर्जनको ध्यानाकर्षण गराएको छ ।त्यसै गरी, समितिले महानगरपालिकाभित्रका बासिन्दाका लागि पीसीआर, एन्टिजेन जाँच गर्न किटसहितको सामग्री खरिद गर्ने निर्णय गरेको छ । प्रत्येक वडामा रहेका कोरोना नियन्त्रण व्यवस्थापन समितिलाई सक्रिय बनाउने पनि समितिले निर्णय गरेको छ । प्रत्येक वडामा रहेका कोरोना नियन्त्रण व्यवस्थापन समितिलाई सक्रिय बनाउने पनि समितिले निर्णय गरेको छ । समितिले कोरोना जोखिम नियन्त्रणका लागि विनियोजित बजेट प्रभावकारी खर्च गर्नुपर्नेमा जोड दिएको छ ।चालू आर्थिक वर्षमा कोरोना नियन्त्रणका लागि १९ करोड रुपियाँ विनियोजित गरेको थियो ।