समाचार लेख्न सकिरहेका छैनौं

रिपोर्टरको डायरी 


चिरञ्जीवी मास्के, दोलखा

म विवश छु, समाचार लेख्न सकिरहेको छैन । यो कस्तो विवशता ? हातहरू सलबलाई रहेका छन् समाचार लेख्न । खुट्टाहरु तम्तयार छन् स्थलगत रिपोर्टिङमा हिँड्न । विषयहरू पनि बग्रेल्ती छन् समाचारका । तर, म विवश छु, समाचार लेख्न सकिरहेको छैन ।सामाजिक सञ्जालमा पत्रकारलाई गाली गरेका धेरै पोस्ट भेटिन्छन् । कोरोना संक्रमणका भयावह अवस्थाका ताजा विवरणहरू पनि देखिन्छन् । तर पनि म विवश छु । न म संक्रमणको भयावह अवस्थाको स्थलगत अध्ययन गर्न पुग्न सक्छु, न सामाजिक सञ्जालमा दिइएको गालीको प्रतिवाद नै गर्न सक्छु ।

२०७२ साल वैशाख १२ गतेको त्यो मध्याह्न । चिच्याहट, कोलाहल, बीभत्स दृश्यहरू उफ ! एउटा कहालिलाग्दो समय । तर, त्यो समयमा मेरा हातहरू रोकिएनन् समाचार लेख्न । खुट्टाहरू निरन्तर अगाडि बढे स्थलगत रिर्पोटिङका लागि । मलाई याद छ त्यो समय, विनाशकारी भूकम्पको केही मिनेटमै हामी पत्रकारहरू सुरक्षाकर्मीसँगै स्थलगत रिपोर्टिङका लागि भूकम्पले भग्नावशेष बनेका ठाउँहरूमा पुगेका थियौं ।
ज्यानको पर्वाह नगरी भूकम्पको क्षति र अवस्थाबारे निरन्तर रिर्पोटिङ गरिरह्यौं हामीले त्यति बेला । भूकम्पले पत्रकारहरूको घरमा पनि क्षति पुगेको थियो । पत्रकारहरू पनि घरबाहिर टहरामा बस्न बाध्य थिए फेरि पनि हरेक पत्रकारले आफ्नो दायित्व निर्वाह गरे त्यति बेला ।
सिन्धुपाल्चोकको जुरेमा २०७० साल साउनमा गएको कहालिलाग्दो पहिरोको रिर्पोटिङ गर्न पनि हामी स्थलगतरूपमा पुग्यौं र जोखिम मोलेर तस्वीर खिच्ने तथा पीडितलाई भेटेर कुराकानी गर्ने काम ग-यौं । दोलखाको जुँगु, लाकुरीडाँडा, लामाबगरलगायतका ठाउँमा २०७४-०७५ सालताका गएको पहिरोको रिर्पोटिङमा पनि हामी पुग्यौं । अरू धेरै कहालीलाग्दा घटनाहरूमा हामीले स्थलगत रिर्पोटिङ ग-यौं ।
तर, योपटक मलगायत हामी सबै पत्रकार विवश भएका छौं । विवश आँट नभएर वा आफ्नो ज्यानको माया धेरै लागेर भएका होइनौं । विवश संक्रमण रोगको प्रकृति र सामाजिक परिस्थितिले बनाइदिएको हो ।

एक वर्षअघि कोरोना संक्रमणको पहिलो लहरका बेला मलगायत धेरै पत्रकार साथी रिर्पोटिङका लागि लगभग दोलखाको सबै पालिका पुग्यौं, रामेछापका केही पालिका पनि पुग्न सक्याै ।कोरोनाले पारेको प्रभाव र पीडित मानव समुदायको अवस्थाको यथार्थता धेरै हदसम्म सार्वजनिक गर्न सक्यौं । त्यति बेला देशभरका धेरै पत्रकार साथीहरु संक्रमित बन्नुभयो । समाजले पत्रकारहरुलाई गाली पनि गर्नुभयो, प्रशंसा पनि । कोरोना संक्रमणको पहिलो लहर तुलनात्मकरूपमा कमजोर देखिएको थियो । मानिसको ज्यान जाने क्रम थोरै थियो । त्यसैले पत्रकारको आँटमा समाजको आपत्ति पनि कम रह्यो ।योपटक कोरोना संक्रमणको दोस्रो लहरसँगै आएको दोस्रो भेरियन्टले मुलुकलाई यति नराम्रोसँग गिजोलिदियो कि साहस र हिम्मत भएका पत्रकारहरूसमेत रिर्पोटिङका लागि घटनास्थलमा पुग्ने अवस्था बनेन । यसैबीच १२ जनाभन्दा बढी पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् भने थुप्रै पत्रकार साथीहरू संक्रमित बन्नुभएको छ ।कस्तो बिडम्वना, रिर्पोटिङमा साहस गरेरै भए पनि जाउँ भने त्यही समुदायका मानिसले गाली गर्छन्, कोरोना सार्ने भयो भनेर अनि नजाउ भने त्यहीं समुदायका मानिसले भन्ने गर्छन् सरकारी हुन्डी खाएका पत्रकार भनेर ।

कोरोनाको दोस्रो भेरियन्टको जोखिम अत्यधिक छ । मृत्युको संख्या अत्यधिक छ । यस्तो बेलामा पत्रकारले परिवारलाई त जोखिममा पार्न सक्ला तर सिंगो समाजलाई कसरी जोखिममा पार्न सक्छ र ! समाचारका लागि पत्रकारहरू कसरी जाने ? पत्रकारको पनि परिवार छ, समाज छ तर पत्रकारको सुरक्षा छैन । सुरक्षा को सँग माग्ने ? सरकारले २४सै घण्टा खटिनुपर्ने सुरक्षाकर्मी र स्वास्थ्यकर्मीकै सुरक्षा गर्न सकिरहेको छैन । पत्रकारको सुरक्षा हुन्छ भन्ने कसरी मान्ने ?त्यसैले म विवश छु, हामी सबै पत्रकारहरू विवश छौं । यो कोरोना संक्रमणको भयावह अवस्थामा घरमा थन्किएर बस्ने र सम्भव भएसम्म प्रविधिको प्रयोगमार्फत रिर्पोटिङ गरेर अधकल्चो समाचार सम्प्रेषण गर्ने ।अरू के नै गर्न सकिन्छ र ! आफ्नो पेसाका लागि म मर्न तयार भए पनि, मेरो परिवार जोखिम मोल्न तयार भए पनि म बसेको समाजको सुरक्षा कसरी हुन सक्छ ? त्यसैले म विवश छु, हामी सबै पत्रकार विवश छौं । कलम चल्न सकेका छैनन्, चलेका कलमले पनि अधकल्चो सूचना दिने अवस्था छ । किनभने हामी घटनास्थल जानै सकेका छैनौं ।कोरोना संक्रमणको भयावह अवस्था र जोखिम कम गर्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मी सँगसँगै होमिनु आवश्यक छ ।

सुरक्षाकर्मी र स्वास्थ्यकर्मी आफ्नो पेशामा किञ्चित विचलित बन्नुभएको छैन । तर, सञ्चारकर्मी नचाहँदानचाहँदै पनि आफ्नो पेसाबाट विचलित बन्नुपरेको छ, समाजको डरले, समुदायको डरले ।सरकारले पत्रकार, पत्रकारको परिवार, समाज र समुदायको सुरक्षामा चासो दिन्छ र पत्रकारलाई स्थलगत रिर्पोटिङका लागि सहज वातावरण बनाइदिन्छ भने म र हामी सबै पत्रकारहरू कोरोना संक्रमणको तथ्यगत समाचार सङ्कलन र संप्रेषणको लागि तयार छौं । आफ्नो ज्यानको माया गरेर घरमा थन्किएर बस्ने र कलमलाई कुँजो बनाउने कुरा हामी कसैको पनि रहर हैन ।