कोरोना बढेसँगै खोप खारिदका लागि नगरपालिकाले मागे मन्त्रालयसँग स्वीकृति

1.9k
Shares

भगवती तिमल्सिना, काठमाडौं ।

विश्व व्यापी महामारीका रुपमा दोस्रो लहरमा फैलिएको कोरोना संक्रमणबाट मानव जातिलाई जोगाउने एउटै उपाय खोप मात्र छ । यस्तो अवस्थामा दिनानुदिन युवा पुस्तालाई संसारबाट नै बिदा दिईरहनुपर्दाको पिडामा केन्द्र सरकार गम्भिर नभएको र कोरोना संक्रमण न्यूनीकरण गर्ने तर्फ स्थानिय निकायले स्वीकृति पाए खोपका लागि पहल गर्ने जनाएका छन् । पाँचखाल नगरपालिकाले कोभिड– १९ विरुद्धको खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति माग्दै मंगलबार निवेदन दर्ता गरेकोछ । पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल भन्नुहुन्छ—पाँचखाल नगरपालिकामा धेरै कोरोना संक्रमितहरु दिन प्रतिदिन बढीरहेका छन् ।

अस्पतालको महंगो शुल्क तिरेर पनि कतिले ज्यान गुमाउनु परिरहेको छ । यो अवस्थामा मेरो लागि सबै भन्दा ठूलो र महत्वपूर्ण कुरा नागरिकको जिउज्यानको सुरक्षा गर्नु नै हो । सरकारले समयमा खोप ल्याएन, अभैm पनि ल्याउँछ भन्ने आशा छ तर सरकारले कहिले ल्याउँछ भनेर हामी जनप्रतिनिधि नागरिकको मृत्यु हेरेर चुप लागेर बस्न सक्दैनौ । सरकारले हामीलाई स्वीकृति दिएको खण्डमा हामी आफ्नै पहलबाट खोप ल्याएर गरिबिका रेखामुनी भएका नागरिकलाई निःशुल्क उपलब्ध गराउँछौ र तिर्न सक्ने नागरिकहरुलाई शशुल्क दिन्छौ । खोप खरिदका लागि नगरपालिकाको बजेट र चन्दा उठाएर भएपनि खोप सबैलाई उपलब्ध गराउँछौ ।

पाँचखाल नगरपालिकाका नागरिकका लागि १८ बर्ष माथिका २० हजार नागरिकका लागि २ डोज खोप लगाउँन ४० हजार डोज खोप आवश्यक पर्छ । सरकारले स्वीकृति दिनासाथै हामी खोप खरिदका लागि आवश्यक प्रकृया अघि बढाउँछौ । राज्यले खोप खरिदका लागि स्वीकृति र मूल्य निर्धारण गरिदिनुपर्छ । मूल्य निर्धारणको बिषय राष्ट्रिय बिषय भएकाले सरकारले एकरुपता हुने गरि निर्धारण गरिदिनुपर्छ । यसका लागि नेपाल सरकारले न्यूनतम रुपमा यति शुल्कमा खरिद गर्न पाउँने भनी तोकिदिनुपर्छ ।

खोप खरिदका लागि चीनमा भएका सुभेच्छुक मित्रहरु तथा विभिन्न संघसंस्थाहरुसँग पनि छलफल भैरहेको छ । यसका साथै रसियन र भारतीय खोपका लागि पनि छलफल भैरहेको छ । यो मध्येमा सरकारले तोकेको शुल्क र प्रकार मिल्ने बित्तिकै प्रकृया अगाडि बढाउँछौ । स्वीकृति पाएको एक महिता भित्र रकम जम्मा गरि प्रकृया अघि बढाउने र कम्तीमा २ महिना भित्र खोप जनताका माझमा पुर्याउन सक्छौ । उहाँ भन्नुहुन्छ—पाँचखाल नगरपालिकाले रचनात्मक कामहरु गर्ने क्रममा न्यून आय भएका व्यक्तिहरुलाई १० हजार सम्म अस्पतालमा उपचारका लागि सहयोग गर्ने निर्णय गरेका छौ ।

पछिल्लो समय कोरोना सक्रमितको स्वास्थ्य परिक्षण, एक्सरे लगायतलाई निःशुल्क गर्ने जमर्कोमा जुटेका छौ । पाँचखाल नगरपालिकामा अक्सिजन सहितको २० वटा आईसोलेसन सेन्टर संचालनमा रहेको छ । बिरामीको सेवाका लागि ४ वटा एम्बुलेन्स तयारी अवस्थामा राखेर सेवालाई सहज र सुलभ बनाएका छौ । यसका साथै घरघरमा रहेका २६ वटा अक्सिजन सिलिण्डरहरु घरदैलो अभियान गरि मागेरै संकलन गरेका छौ । पाँचखाल नगरपालिका भित्र कोरोनाको दोस्रो लहर सुरु भएपछि मेयर खरेल समेत हाल सम्म १ सय ७७ पुरुष १ सय ४९ जना महिला सक्रिय कोरोना सङक्रमित छन् भने चार जनाले ज्यान गुमाइसकेका छन् ।

नगरको आइसोलेसनमा ७, अस्पताल आइसोलेसनमा २ र होम आइसोलेसनमा १ सय २३ सङ्क्रमित रहेका छन् । खोप खरिदको स्वीकृति माग्दै आइतबार पाल्पाको रामपुर नगरपालिका मेयर रमण बहादुर थापाले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयश त्रिपाठीलाई भेटेरै नगरकै खर्चमा कोरोना विरुद्धको खोप खरीद स्वीकृतिका लागि निवेदन दिनुभएको थियो । यस्तै, स्याङ्जाको वालिङ नगरपालिकाले पनि सोमबार मन्त्रालयमा पत्राचार गरी तीव्ररुपमा कोरोना संक्रमण फैलिएसँगै नागरिकबाट खोपको माग भइरहेकाले खोप उपलब्ध गराउन आग्रह गर्दै उपलब्ध गराउन नसके नगरको आफ्नै खर्चमा मापदण्डअनुसार बाहिरी मुलुकबाट खरीद गर्नेगरी अनुमति दिन अनुरोध गरेको छ । कोरोना संक्रमण बिरुद्ध लड्नका लागि खोपको विकल्प नभएको विश्व व्यापी रुपमा बैज्ञानिकहरुले निष्कर्ष निकालि सकेको अवस्थामा जनस्तरबाटै खोप खरिदका लागि केन्द्र सरकार समक्ष स्वीकृति माग गर्दै स्वास्थ्य मन्त्रालयमा दैनिक जसो निवेदन दर्ता हुन थालेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।