‘यास’ चक्रवातको प्रभावबाट सतर्क रहन आग्रह

3.9k
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

पश्चिमी बंगालको खाडीमा विकसित जलवायु र ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि देखिएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । प्रशासनले बिहीबार विज्ञप्ति जारि गर्दै सतर्क रहन जिल्लावासीलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा बाढी , पहिरो र डुबान हुने स्थानमा नजान, नदी र खोलाहरुमा माछा मार्ने काम नगर्न, नदीको किनार आसपास बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । मकवानपुरमा हरेक वर्ष बर्खायाममा बाढी, पहिरो र डुबानजस्ता समस्या देखिने गरेको छ ।

आफ्नो क्षेत्रमा बाढी, पहिरो, डुबान जस्ता जोखिम देखिए तत्काल जिल्ला विपद् व्यबस्थापन समितिलाई खबर गर्न पनि भनिएको छ । यसअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यबस्थापन प्राधिकरणले बिहीबारदेखि शनिबारसम्म कर्णाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको थियो ।