खोप खरिद गर्न सामाजिक समितिद्वारा मेयरको ध्यानाकर्षण

8.3k
Shares

न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिका सामाजिक विकास समितिले खोपका लागि संघीय सरकारको भरमा मात्र नपर्न आग्रह गर्दै महानगरपालिका स्वयंले खोप खरिद गर्नुपर्नेमा मेयर चिरिबाबु महर्जन समक्ष ध्यानाकर्षण गराएको छ । महानगरपालिकाको कार्यपालिका बैठक नबोलाइएको स्थितिलाई मध्यनजर गरी समितिले लिखित पत्र पठाएर सो विषयमा ध्यानाकर्षण गराइएको हो । समितिको बिहीबार बसेको बैठकले कोरोना संक्रमित र मृत्यू हुनेको संख्या बढीरहेको समयमा महानगरपालिका स्वयंले खोप खरिद गर्नुपर्ने निर्णय गरेको छ । समितिका सदस्यको हस्ताक्षर सहितकोे निर्णय कपी समेत राखेर मेयर महर्जनको ध्यानाकर्षण गराइएको थियो ।

केन्द्रीय सरकारको भरमा मात्र नपरी महानगरपालिका स्वयंले खोप किन्नुपर्ने टड्कारो भइसकेको समितिका संयोजक दिनेश कार्कीले बताउनुभयो । नगरका १ देखि २९ वडामा एक सातादेखि सञ्चालित भेरोसेल खोप दिने कार्यक्रम विहीबार सकिएको छ । ‘ पहिलो खोपमा नगरवासीको सहज पहुँच भएन । दोस्रो खोप वडामा वडामा दिइयो । पहिलो खोप नलिएका धेरै पाइएकोले दोस्रो खोप लगाउनेको संख्या पनि स्वतः कम हुने भइहाल्यो । पहिला खोप कहिले आउँछ भनेर नगरबासीले सोधेको सोध्यै छ ।’ २४ वडाका वडाअध्यक्ष समेत रहनुभएका संयोजक कार्कीले भन्नुभयो । यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालयको मात्र भरमा बस्नु उचित नहुने पनि समितिको नीष्कर्ष रहेको छ ।

समितिले महानगरपालिका र वडाद्वारा सञ्चालित आइसोलेसन सेन्टरमा आवश्यक सामग्री सहयोग गर्न पनि ध्यानाकर्षण गराएको छ । महानगरपालिकाले विभिन्न गैरसरकारी संस्थासंग मिलेर बागडोलस्थित ज्यापू समाजको भवनमा आइसोलेसन सञ्चालन गरेको छ । विभिन्न वडाहरुले पनि आइसोलेसन सञ्चालनमा ल्याएको छ । त्यसैगरी ललितपुर उद्योग वाणिज्य संघ र च्यासलका स्थानीयले आइसोलेसन सञ्चालन गरेको छ । ती आइसोलेसनलाई अत्यावश्यक सामग्री सहयोग गर्न पनि समितिले मेयर महर्जनको ध्यानाकर्षण गराएको छ ।

त्यसैगरी समितिको बैठकले महानगरपालिका भित्रका बासिन्दाका लागि पीसिआर, एन्टिजेन जाँच गर्न कीट सहितको सामग्री खरिद गर्ने निर्णय गरियो । प्रत्येक वडामा रहेका कोरोना नियन्त्रण व्यवस्थापन समितिलाई सक्रिय बनाउने पनि समितिले निर्णय गरेको छ । ‘ यत्रो महामारीको बेला कार्यपालिका बैठक बोलाइएको छैन । नगरवासीहरु अनेक समस्याबाट आक्रान्त छन् । त्यसले गर्दा समितिको बैठक बसेर यी विषयमा ध्यानाकर्षण गराइएको हो ।’ समितिका संयाजक कार्कीले भन्नुभयो । बैशाख ६ गते सोमबार यता कार्यपालिकाको बैठक बसेको छैन । कोरोना जोखिम नियन्त्रणको लागि विनियोजित बजेट प्रभावकारी खर्च गर्नुपर्ने समितिले जनाएको छ । चालू आर्थिक वर्षमा कोरोना नियन्त्रणको लागि १९ करोड रुपैयाँ विनियोजित गरेको थियो ।