‘फ्रन्टलाईनर’ स्वास्थ्यकर्मीलाई कोभिडविरुद्धको खोप, संक्रमणसँग जुध्न उच्च बन्यो मनोबल

4.7k
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

धुलिखेल अस्पतालको इमरजेन्सी विभागका इन्चार्ज डा. सानुकुमार श्रेष्ठ लगायतको स्वास्थ्यकर्मीहरुको टोली हरेक दिन कोरोना संक्रमणको लक्षण भएर संकट निम्तिन थालेपछि अस्पताल ल्याउने विरामीहरुको रेखदेखमा ब्यस्त हुनुहुन्छ । बनेपाको शिर मेमोरियल अस्पताल, जिल्लाका न्य नीजि अस्पतालहरुमा पनि यो क्रम जारी छ ।

कोरोनासँग मिल्दा जुल्दा तर शंकास्पद लक्षण देखिएका अथार्त कोभिड नै पुष्टी भएर गाह्रो भए पछि अस्पताल आउने विरामीहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पहिलो चरणको कोभिड १९ को महामारीमा जस्तो असहज अहिले छैन । ‘पहिलो चरणमा फैलिएको संक्रमणबाट ब्यक्तिहरुको कम निधन भयो, संक्रमण पनि धेरैलाई हुन पाएन तर पनि डर र त्रास धेरै थियो’–धुलिखेल अस्पताल इमरजेन्सी विभागका प्रमुख डा. सानकुमार श्रेष्ठले भन्नुभयो–‘यो पटक कोभिडका कारण धेरै ब्यक्तिहरुको निधन भएको छ ।

इमरजेन्सी विभागमा आएका मध्ये १० भन्दा धेरै संक्रमित हुन्छन् । सामान्य अवस्थाबाटै हामीले विरामीलाई उपचार गरी जहाँ पठाउनु पर्ने हो त्यहाँ पठाएका हुन्छौं । पहिलाको जस्तो डर छैन ।’ अघिल्लो वर्ष पिपिई विना बस्न नसक्ने स्वास्थ्यकर्मीहरु यो पटक सामान्य सर्जिकलन माक्समै विरामीको उपचार गरिरहनु भएको छ । डा. सानुकुमार श्रेष्ठले भन्नुभयो यसको अर्काे महत्वपूर्ण आत्मबल भनेको कोभिड १९ विरुद्धको खोप नै हो ।

‘खोप लगाएका कारण ९५ प्रतिशत ढुक्क हुने अवस्था सिर्जना भयो’–डा. सानुकुमार श्रेष्ठले भन्नुभयो–‘अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमा खोप लगाए पछि पनि कोभिड नदेखिएको होईन तर गम्भिर हुनु पर्ने अवस्थामा पुर्‍याएन । त्यसकारण पनि कोभिड विरुद्धको भ्याक्सिनले फ्रन्टलाईनमा खटिनेहरुको आत्मबल बढेको उहाँले बताउनु भयो ।

काठमाडौ अस्पताल स्कुल अफ साईन्सका डिन प्रोफेसर डा. राजेन्द्र कोँजुको अनुभव पनि त्यस्तै छ । ‘कोभिड १९ विरुद्ध लगाईएको खोपले स्वास्थ्यकर्मीहरुको मनोबल बढाएको छ, नेपाल सरकारलाई धन्यवाद दिनै पर्छ’–डा. राजेन्द्र कोँजुले भन्नुभयो–‘समयमै खोप ल्याउने पहल नभएको भए दोश्रो चरण शुरु भएको कोभिड विरुद्धको लडाईमा स्वास्थ्यकर्मीहरु अस्पतालमा भेट्न कठिन थियो । अधिकांश स्वास्थ्यकर्मीहरुले खोप लगाएकै कारण विरामीको सेवामा स्वास्थ्कर्मीहरु निर्धक्क खटिन सक्ने अवस्था बन्यो ।’

काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, नीजि क्लिनिक तथा अस्पतालहरु, स्थानीय सरकारका पालिकाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरु समेत गरी दोश्रो चरणको कोरोना भाईरसका कारण झण्डै २ सय संक्रमित भएका छन् । संक्रमितहरु मध्ये केहिले अझै खोप सेवा लिएका छैनन । खोप सेवा लिनेहरु मध्ये केहिलाई बाहेक अरुलाई कोभिड संक्रमण भए पनि अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । नेपालमा झण्डै २९ लाख नागरिकहरुले खोप लगाउँदा काभ्रेमा २९ हजार ५ सय ३३ जनाले खोप सेवा प्राप्त गरेका छन् । पहिलो मात्रा २९ हजार ५ सय ३३ ले प्राप्त गरेका छन् भने दोश्रो मात्रा १२ हजार ३० जनाले प्राप्त गरिसकेका छन् ।

फ्रन्टलाईनमा खटिने नेपाल प्रहरी, शशस्त्र प्रहरी, शव ब्यवस्थापनमा खटिएको नेपाली सेना, संचारकर्मी, जनप्रतिनिधि, जेष्ठ नागरिक तथा अन्य समुहका नागरिकहरुले खोप लगाए पछि संक्रमण देखिने क्रम कम भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । सरकारले प्राथमिकतामा राखेर खोप अभियान संचालन गरेको भए पनि खोप प्रतिको अविश्वासका कारण धेरै नागरिकहरुले लगाएनन् । दोश्रो चरणको कोभिड १९ संक्रमण फैलिएसँँगै अधिकांश नागरिकहरुलाई खोपको आवश्यकता पर्‍यो ।

सरकारले छिमेकी देश तथा विभिन्न राष्ट्रहरुसँग समन्वय गरी हरेक नागरिकले खोप लगाउन सक्ने वातावारण तयार गरिरहेको छ । अर्काे चरणको संक्रमण फैलिनु अगावै धेरै नागरिकहरुले खोप लगाउन सके भने महामारी नियन्त्रणमा सहज हुने सर्वसाधारणले विश्वास ब्यक्त गरेका छन् ।

स्वास्थ्य कार्यालय काभ्रे मार्फत पहिलो चरणमा स्वास्थ्यकर्मी २ हजार २ सय २, अन्य कर्मचारी २ सय २२, महिला स्वास्थ्य स्वयंसेविकाहरु ५ सय ३३, सरसफाईकर्मी ९६, एम्बुलेन्स चालक ३५, सुरक्षाकर्मी १सय ६४, कैदी २ सय ३० र बृद्धाश्रममा रहेका जेष्ठ नागरिक १२ गरी ३ हजार ४ सय ९४ जनालाई खोप लगाईएको स्वास्थ्य कार्यालय काभ्रे अन्र्तगत कोभिड १९ संक्रमण भएका विरामीहरुको पहिचानका लागि गठित घटना अनुसन्धान तथा खोज पड्ताल टिम (सिआईसिटी) का जिल्ला प्रमुख दमन विष्टले जानकारी दिनु भयो ।

जिल्लाका १३ वटा पालिकामा रहेका ६५ वर्ष भन्दा माथि उमेर समुहका १७ हजार १ सय ६१ जनाले खोप सेवा प्राप्त गरेका छन् । जसमध्ये ८ हजार ५ सय ८९ महिला र ८ हजार ५ सय ७२ पुरुष रहेका छन् । दोश्रो चरणको महामारीका बीच पनि स्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मी मार्फत दोश्रो चरणको खोप अभियान संचालन गरेको छ ।

त्यस्तै पहिलो र दोश्रो चरणको प्राथमिकतामा छुटेका ३ हजार ३ सय ५ जनाले खोप लगाएका छन् । जसमा शव ब्यवस्थापनमा प्रत्यक्ष खटिने ब्यक्तिहरु ४, एम्वुलेन्स तथा शव बाहनका चालक र सहचालक २ , पत्रकार ८१, न्याय सेवा समुहका कर्मचारीहरु २४, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी १ सय ७६, शशस्त्र प्रहरी २ सय ८, जनपथ प्रहरी ४ सय ७३, निजामती सेवाका कर्मचारी ७ सय २०, स्थानीय पालिकाका प्रतिनिधि तथा कर्मचारी ६ सय १८ र पहिलो चरणमा छुट भएका स्वास्थ्य मातहतका ब्यक्तिहरु ४ सय ७६ गरी ३ हजार ३ सय ५ जनाले खोप लगाएका छन् । खोपका कारण एम्बुलेन्स चालक, पत्रकार, सरसफाईकर्मी, सुरक्षाकर्मी निर्धक्क सेवामा कृयाशिल भएका छन् ।