ह्युस्टन, (एजेन्सी)
अमेरिकाको टेक्सास राज्यका विधायकहरूले पारित गरेको नयाँ विधेयकअनुसार त्यहाँका जनताले अबदेखि बिना अनुमति पत्र खल्तीमा लुकाउन मिल्ने साना ह्यान्डगन बोक्न पाउने भएका छन् । यसअघिको कानुनअनुसार कसैले पनि त्यस्तो ह्यान्डगन बोक्न अनुमतिपत्र, तालिम र व्यक्तिगत पृष्ठभूमिको परीक्षण आवश्यक थियो ।
तर, टेक्सासको रिपब्लिकन बाहुल्य सिनेटले ती कानुनी बन्देज हटाउन मतदान गरेका हुन् । यद्यपि, बन्दुक नियन्त्रण समूहहरूले यस कदमको विरोध गर्दै यसै कारण मानिसहरूको ज्यान जोखिममा पर्ने सम्भावना बढ्ने चेतावनी दिएका छन् । तर, यसको विपरीत अन्य समर्थकहरूले भने यसरी बन्दुक बोक्न पाउँदा मानिसहरूलाई सार्वजनिकस्थलमा आफ्नो प्रतिरक्षा गर्न सजिलो हुने तर्क अघि सारेका छन् ।
यो विधेयक गभर्नर ग्रेग एब्बोटकहाँ पठाइएको छ । उनले आफूले यसमाथि हस्ताक्षर गरी कानुनी रूप दिने बताएका छन् । टेक्सास अमेरिकाकै बन्दुकसम्बन्धी सबैभन्दा खुकुलो कानुन भएको राज्य मानिन्छ । यसअघि नै त्यहाँ बिना अनुमति सार्वजनिक स्थलमा राइफल बोक्न पाइन्थ्यो ।
नयाँ कानुनअनुसार २१ वर्ष उमेर पुगेका जो कोहीले पनि आपराधिक पृष्ठभूमि वा कानुनी अड्चन नभएको खण्डमा ह्यान्डगन बोक्न पाउनेछन् ।बन्दुक नियन्त्रण समूहहरूले पछिल्ला वर्षहरूमा टेक्सासमा भएका आमहत्याका घटनाहरू औंल्याएका छन् । सन् २०१९ को अगस्टमा टेक्सासमा भएका दुईवटा गोली काण्डमा ३० व्यक्तिको ज्यान गएको थियो । त्यसैगरी, सन् २०१८ मा एउटा उच्च विद्यालयमा १० जना तथा २०१७ मा एक चर्चमा २७ जनाले गोली लागेर ज्यान गुमाएका थिए ।
प्रतिक्रिया