कोरोनाविरुद्ध निजी क्षेत्र


चौधरी फाउन्डेसनले अक्सिजन प्लान्टलगायत दीर्घकालीन स्वास्थ्य सेवामा महत्व राख्ने परियोजना शुरु गरेको जानकारीमा आएको छ । फाउन्डेसनले देशकै जेठो वीर अस्पतालको नयाँ भवनमा १८ शय्याको आधुनिक आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने नेतृत्व लिएको समाचार बाहिरिएसँगै सरोकारवाला सबैमा सकारात्मक ऊर्जा थपिएको छ । यस कार्यलाई अघि बढाउन चिकित्साशास्त्र अध्ययन प्रतिष्ठान (न्याम्स) र फाउन्डेसनबीच सहमतिपत्रमा छिटै हस्ताक्षर होस् भन्ने कामना गर्नु स्वाभाविक हुनेछ ।

फाउन्डेसनले सुदूरपश्चिम प्रदेशको धनगढी नगरपालिका र कर्णाली प्रदेशको राजधानी सुर्खेत नगरपालिकामा एक–एक थान अक्सिजन प्लान्ट स्थापना गर्न नगरपालिकासँग आवश्यक सहमति गरिसकेको बुझिएको छ । यी तीनवटै अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक लिटर प्रतिघण्टा रहने र एक दिनमा ४० लिटर क्षमताका १ सय ५० सिलिन्डर अक्सिजन भर्न सकिने फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले केही दिनभित्रै सामग्री आयात गरी प्लान्ट निर्माण गर्न र वीर अस्पतालका साथै कर्णाली र सुदूरपश्चिममा अक्सिजन अभाव समस्या समाधान गर्न सफल हुने विश्वास लिएको बताइएको छ । प्रतिनिधिसभा सदस्य समेत रहेका चौधरी फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले तत्काल अक्सिजन कन्सन्ट्रेटर आयात गरी अक्सिजनको चर्को अभाव खेपिरहेका अस्पतालहरूलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

अक्सिजन प्लान्टको आपत्कालीन एकीकृत परियोजना सम्पन्न गर्न करिब १० करोड रुपियाँ खर्च हुने अनुमान फाउन्डेसनले गरेको छ । कोरोना संक्रमणको महामारीका कारण थला परेका बिरामीको साझा मागको विषय बनेको अक्सिजन ग्यासका लागि व्यापारिक क्षेत्रबाट प्रयास हुनु अन्य विभिन्न कारणले पनि स्वागतयोग्य छ । मुलुकको सेवा पहिलो लाभको विषय हो भने लगानीकर्ताले पाउने आर्थिक प्रतिफल अर्को लाभको विषय हो । मुलक र नागरिकका लागि जसले जे सक्छ त्यो काम गर्न कसैले पनि ढिला गर्नुहुन्न । खासमा यति खेर नागरिकको ज्यान बचाउनु पहिलो प्राथमिकताको विषय हो । महामारीको चपेटामा परेर नागरिकले मृत्युसँग जुध्नुपरेको बेला उनीहरुको जीवन रक्षा नै सही अर्थमा मुलुकको सेवा हो । नागरिक नै सही अर्थमा राष्ट्र हो भनिन्छ, त्यसैले उसको जीवन बचाउने कार्यलाई राष्ट्रसेवाको सज्ञा दिनु बुद्धिमानी हुन्छ ।गतवर्ष पनि चौधरी फाउन्डेसनले कोरोना महामारीका बेला देश र जनता अन्योलको अवस्थामा रहँदा केन्द्रीय प्रयोगशाला टेकु, धुलिखेल अस्पताललगायत दुई सयभन्दा बढी स्वास्थ्य केन्द्रमा पीपीई, स्यानिटाइजर, मास्क, भेन्टिलेटरसहित आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएकै हो ।

वास्तवमा यस प्रकारको सहयोगले तत्काल बिरामीको ज्यान जोगाउँछ भने दीर्घकालीनरूपमा समाजिक सद्भावको संस्कारको विकास हुन्छ । सभ्य समाजको जन्म हुन्छ । आज, चौधरी फाउन्डेसनजस्ता शक्ति कोरोना खोप आयातमा पनि सक्रिय हुनु आवश्यक छ । पीपीई, स्यानिटाइजर, मास्क, अक्सिजन, बेड, अस्पताल आदि आवश्यक वस्तु हुन्, तर सबैभन्दा ठूलो र दीर्घकालीन आवश्यकता भनेको खोपकै हो । खोप उपलव्ध भएमा स्वास्थ्योपचारका पीपीईदेखि अस्पतालसम्मका आवश्यकताको अध्याय नै समाप्त भएर जान्छ । त्यसैले निजी क्षेत्रका चौधरी ग्रुपजस्ता व्यापारिक घरानाहरुले खोप भित्र्याउन पहल गरुन् भन्ने चाहना आम नागरिकमा देखिन्छ । सरकारलाई राजनीति गरेरै फुर्सद नभएपछि बढी आस निजी क्षेत्रप्रति हुनु अस्वाभाविक पनि होइन ।