शव व्यवस्थापन नहुँदा मसानघाट दुर्घन्धित


राम धामी, डडेल्धुरा ।

डडेल्धुरासहित सुदूरपश्चिम प्रदेशको धार्मिक आस्थाको केन्द्र अमरगढी नगरपालिका–३घटाल थानस्थित मसान घाटमा कोरोना संक्रमित मृतकको शव नजलाएरै छोडिदाँ दुर्गन्धित भएको छ ।अमरगढी नगरपालिकाका २ र ३ वडाका १७ वटा गाउँको बिचमा रहेको मसान घाटमा कोरोना संक्रमित मृतकको शव नजलाएरै खाडलमा गाड्दा दुर्घन्ध फैलिँएको हो ।

डडेल्धुरामा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै जाँदा मृतकको संख्या पनि बढ्दोछ । डडेल्धुरामा मृत्यु भएकाहरूको शव घटाल थानमा लैजाने गरिएको छ । कोरोना संक्रमितको शव आधा जलाएर उत्तिकै छोड्ने गरेकोले कोरोना महामारी संक्रमणको जोखिम बढ्ने भन्दै स्थानीय चिन्तित भएका छन् ।घटाल क्षेत्र विकास समाजले दाउराको व्यवस्था गर्दागर्दै पनि शव जलाउनुको साटो चरम लापरवाही हुने गरेको स्थानीय राजेन्द्र जैशीले बताउनु भयो । ‘शव नजलाएर खाडलमा गाडदा समस्या भएको छ । खाडलमा प्ुरिएको शव कुकुर र स्यालले निकालेर खान्छन् । यसले घटाल क्षेत्रमा दुर्गन्ध फैलाएको छ,’ उँहाले भन्नुभयो,‘यसबाट महामारीको जोखिम बढेको छ भने सरोकारवालाको चरम लापरवाही देखिएको छ ।’कोरोना संक्रमितको शव राम्रोसँग व्यवस्थापन नगरेर उत्तिकै छोड्ने गरेको भन्दै स्थानीय चक्र साउँदले रोष प्रकट गर्नुभयो । ‘कोरोना महामारीले मानव समुदाय आक्रान्त छ । कोरोना संक्रमण भएर मृत्यु भएका ब्यक्तिहरुको शव त्यसै छोड्ने गरिएकाले दुरगामी असर पर्ने देखिएको छ,’ उँहाले भन्नुभयो । यस्तै लापरवाही बढ्दै गएमा स्थानीयहरुले प्रतिकार गर्ने दिन नआओस् भन्दै उँहाले सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो ।

घटाल थानमा सिमित गाउँका मात्रै शवहरू आउने गरेको भए पनि कोरोना महामारी पश्चात यँहा मृत्यु हुने मृतकहरुका शवहरू पनि घटाल थानमा अन्त्येष्टी गर्ने गरिएको छ । सिमीत क्षेत्र बाहेक अन्यत्रको शव नपठाउँन आग्रह गर्दै घटाल क्षेत्र विकास समाजले जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई पत्र पठाएको छ । घटाल थानमा शव राम्रोसँग व्यवस्थापन नगर्दा समस्या भएको भन्दै शव लैजान रोक लगाउँदा पनि प्रहरी लगाएर शव लैजाने गरेको वडाअध्यक्ष गोबिन्दराज बोहराले बताउनु भयो ।नेपाल सरकारको कार्यविधिमा नै चलनचल्तिमा रहेको मसानमा शव व्यवस्थापन गर्नुपर्ने रहेको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताउनु भयो । उहाँले तत्काल अन्यत्र मसानघाट बनाउने अवस्था नभएको बताउनु भयो ।

डडेल्धुराका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले यस बारेमा आफू अनविज्ञ रहेको बताउनु भयो । घटाल क्षेत्र विकास समाजले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाई सकेको भए पनि सीडीओ घिमिरेले अनविज्ञता प्रकट गर्नु भएको हो । सर्वपक्षिय निर्णय अनुसार मसान घाटमा लगेर शव जलाउने भनेको हो । प्रशासनले पठाउने पनि होइन्,’ सीडीओ घिमिरेले भन्नुभयो, ‘स्थानीय तहले देखाउने हो । नेपाली सेनाले शव व्यवस्थापन गर्ने हो ।’ उँहाले यसबारेमा आफुलाई खासै जानकारी नभएको जिकिर गर्नुभयो ।