बर्दियामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

बर्दियाको गेरुवा गाउँपालिकामा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणमा सोमबार बेलुकी गेरुवा गाउँपालिका – १ सरखोलकी ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै मृत्यु भएको थियो । उनकी तीन बर्षीया छोरी दिपिका वि.क. गम्भीर घाइते भएकी थिइन् ।

सोमबार साँझ घरबाहिर रहेको समयमा हात्तीले आक्रमण गर्दा आमाको घटनास्थलमै र छोरीको गम्भीर घाइते अवस्थामा उपचार गर्दागर्दै मृत्यु भएको बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ का वडाध्यक्ष दयाराम थारुले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय शान्तिबजार र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख विष्णु श्रेष्ठसहितको टोली मंगलबार विहान घटनास्थलमा पुगेर अनुसन्धान गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जले घटनाको अध्ययन गर्दै मृतकको परिवारलाई राहतको प्रक्रिया अगाडि बढाउने बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।