वीर अस्पतालको प्रमुखमा गौतम नियुक्त


काठमाडौं, (नेस)

कोभिड–१९ केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतम नियुक्त हुनुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार बसेको मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका रूपमा नियुक्त गरिएको मन्त्रालयका प्रशासन प्रमुख दामोदर रेग्मीले जानकारी गराउनुभयो । नयाँ जिम्मेवारीको मंगलबारदेखि कार्यभार सम्हाल्ने कार्यक्रम बनाएको डा. गौतमले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

डा. गौतम र इन्सिडेन्ट कमान्ड सिस्टमका प्रमुख डा. गुणराज लोहनी केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका मुख्य दाबेदारका रूपमा चिनिँदै आउनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाअनुरूप डा. गौतमलाई उक्त पदमा नियुक्त गरिएको स्वास्थ्यमन्त्रालय स्रोतले जनाएको छ ।