छेन्दु दूतावासबाट औपचारिक कार्य शुरू


काठमाडौं, (नेस)

चीनको सिचुवान प्रान्तको व्यापारिक शहर छेन्दुस्थित नेपाली महावाणिज्य दूतावासले सोमबारदेखि औपचारिकरूपमा काम शुरू गरको छ ।

चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले महावाणिज्य दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराएर महावाणिज्य दूतावासको औपचारिक उद्घाटन गर्नुभएको हो ।महावाणिज्य दूतावास भवनको उद्घाटन भने राजदूत पाण्डेले सिचुवान प्रान्तका भाइस गभर्नर ली युन्जे, छेन्दु नगरपालिकाका मेयर वाङ फेङचाओ, चिनियाँ विदेश मन्त्रालयको कन्सुलर विभागका उपनिर्देशक चुई आइमिनसँगै संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

दुई कर्मचारीसहित महावाणिज्य दूत दिनेशकुमार घिमिरेले केही समय अघिदेखि छुन्दु महावाणिज्य दूतावासको काम शुरू गरिसक्नुभएको छ ।उद्घाटन समारोहमा राजदूत पाण्डेले सिचुवानप्रान्तको व्यापारिक केन्द्र छेन्दुमा खोलिएको महावाणिज्य दूतावासले दुई देशबीच सहयोग आदान–प्रदानमा अभिवृद्धि गर्नुका साथै दुई देशबीचको मित्रवत् सम्बन्धलाई अझै प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सिचुवान प्रान्तका भाइस गभर्नर लीले महावाणिज्य दूतावासको स्थापनाले दुई देशबीच व्यापार, लगानी, पर्यटन र जनस्तरको आदान–प्रदान अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।