डा. जागेश्वर गौतम युनिफाइड केन्द्रीय वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त

392
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोभिड–१९ केन्द्रीय अस्पताल वीर अस्पतालको प्रमुखमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतम नियुक्त हुनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार बसेको मन्त्रीस्तरीय निर्णयबाट डा. गौतमलाई युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका रुपमा नियुक्त गरिएको मन्त्रालयका प्रशासन प्रमुख दामोदर रेग्मीले जानकारी गराउँनुभयो । नयाँ जिम्मेवारीको मंगलबार देखि कार्यभार सम्हाल्ने कार्यक्रम बनाएको डा. गौतमले नेपाल समाचारपत्रलाई जानकारी गराउँनुभयो ।

डा. गौतम र इन्सिडेन्ट कमाण्ड सिष्टमका प्रमुख डा. गुणराज लोहनी केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीका मुख्य दाबेदारका रुपमा चिनिदै आउँनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छा अनुरुप डा. गौतमलाई उक्त पदमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रत्यक्ष कमाण्डमा सञ्चालन हुने उक्त अस्पतालको नेतृत्व निजामती सेवाको राजपंत्राकित प्रथम श्रेणी वा स्वास्थ्य सेवाको ११ औं तहको वरिष्ठ अधिकारी वा वरिष्ठ चिकित्सकले गर्ने व्यवस्था छ । डा. गौतम स्वास्थ्य मन्त्रालयको ११ औं तहका बरिष्ठ अधिकारीका हुनुका साथै वरिष्ठ चिकित्सक पनि हुनुभएकै कारण नियुक्त गर्न सहज भएको बुझिएको छ । उहाँ कोभिड १९ को महामारी पहिलो चरणको मध्यान्ह देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता पनि हुनुहुन्छ ।