प्रधानमन्त्री ओलीको आह्वानमा एमाले स्थायी कमिटी बैठक बस्दै


न्युज अफ नेपाल , काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज स्थायी कमिटीको बैठक बस्दै छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताए ।

उहाँले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए । “विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्दैन , तिनलाई पनि थप स्पष्टीकरण सोधिने छ” बताए  ।

यही जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको स्पष्टीकरण पेश गर्न आज अन्तिम समयसीमा तोकिएको छ ।