टेलिकमबाट स्वास्थ्यकर्मीलाई निःशुल्क फोन गर्न पाउने


काठमाडौं, नेस

कोभिड–१९ को संक्रमणका बेला फ्रन्टलाइनमा बिरामीको सेवामा खटिने चिकित्सक, नर्स, फार्मेसिस्टलगायतका स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले ‘धन्यवाद स्वास्थ्यकर्मी अफर’ उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा आइतबार नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद्, नेपाल नर्सिङ परिषद्, नेपाल फर्मासिस्ट परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल आयुर्वेदिक परिषद्बीच हस्ताक्षर भएको छ ।

यस अफरअन्तर्गत देशभरका स्वास्थ्यकर्मीले प्रयोग गरिरहनु भएकोे नेपाल टेलिकमको पोस्टपेड÷प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने छ । स्वास्थ्यकर्मीले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गरिनेछ । पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागू हुने रेन्टल चार्ज कायमै रहनेछ । स्वास्थ्यकर्मीहरुको सूची र मोबाइल नम्बरसहितको आधिकारिक पत्र स्वास्थ्यसँग सम्बन्धित परिषद्हरुले आफ्नो लेटर हेडमा नेपाल टेलिकमलाई उपलब्ध गराएपश्चात यो अफर उपलब्ध गराइने छ ।

स्वास्थ्यकर्मीहरुको आफ्नै नाममा रहेको सिम कार्डमा मात्र उल्लिखित अफर उपलब्ध हुने भएकाले आफ्नो नाममा कम्पनीको सिमकार्ड नहुने स्वास्थ्यकर्मीले नयाँ सिमकार्ड लिनका लागि सम्बन्धित परिषद्को आधिकारिक लेटर प्याडमा स्वास्थ्यकर्मीको नाम तथा विवरण उल्लेख गरी नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ अथवा स्वास्थ्यकर्मीको सम्बन्धित परिषद्को परिचय पत्रका आधारमा नयाँ सिमका लागि भर्नुपर्ने फाराम नियमानुसार भरी टेलिकमको नजिकको काउन्टरबाट तत्कालै निःशुल्क सिम प्राप्त गरी धन्यवाद स्वास्थ्यकर्मी अफर समावेश हुनेछ ।