बजेट सस्तो लोकप्रियता कमाउने आउँदैन: प्रम


काठमाडौं, नेस

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत् आउने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आइतबार पत्रकारहरूसँग कुरा गर्दै संसद् विघटन भइसकेकाले अध्यादेशमार्फत् बजेट आउने बताउनुभएको हो ।उहाँले विशेष कार्यक्रम गरी आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गरिने जानकारी दिनुभयो ।

आगामी बजेट कोभिडसँग जध्ने कार्यक्रम केन्द्रित हुने उल्लेख गर्दै सरकारले यसअघि अगाडि सारेका नीतिलाई कार्यान्वयन गर्ने तथा विकास र समृद्धि ल्याउने किसिमको बजेट आउने तर, आगामी बजेट सस्तो लोकप्रियताका कायम गर्ने किसिमको भने नआउने दाबी गर्नुभयो ।‘देशको अर्थतन्त्रप्रति गैरजिम्मेवार भएर बजेट आउँदैन प्रधानमन्त्री ओलीले भन्नुभयो–‘चुनाव लक्षित बजेटका कार्यक्रम आउँदैन, बजेटको ठूलो हिस्सा कोभिड रोकथाममै केन्द्रित हुनेछ । पुरानै कार्यक्रमले निरन्तरता पाउनेछन् । तर, ठूला विकासका कार्यक्रम समावेश हुने छैनन् ।’ संवैधानिक व्यवस्थाअनुसार हरेक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्छ । अध्यादेशमार्फत् आउने बजेटलाई पूर्ण बजेटका रूपमा ल्याउन नहुने सरोकारवालाहरूको जोड । राजनीतिक विवाद कायमै रहेको स्थितिमा अहिले तत्कालको खर्च प्रणालीलाई व्यवस्थापन गर्ने र कोरोना नियन्त्रण केन्द्रित कार्यक्रमहरू मात्रै समेटेर अल्पकालीन बजेट ल्याउनुपर्ने उनीहरूको तर्क छ ।

बजेट अधिवेशन आह्वान

बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख विष्णु प्रसाईंले संविधानको धारा १८३ को उपधारा १ बमोजिम बजेट अधिवेशन जेठ १६ गते आइतबार दिउँसो ३ बजेका लागि आह्वान गर्नुभएको हो ।शुक्रबारको मन्त्रिपरिषद् बैठकले आठौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । असार १ गते प्रदेशको बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्थाअनुसार प्रदेशसभा आह्वान गरिएको हो । प्रदेश सरकारको बजेट १ गते ल्याउनुपर्ने व्यबस्था छ । त्यसको १५ दिनअगाडि पूर्वबजेट सदनमा छलफल गर्नुपर्ने हुन्छ । पूर्वबजेट छलफलपश्चात् नीति तथा कार्यक्रम घोषणा गरिने र तोकिएको समयमै बजेट ल्याउने गरी मन्त्रालयले तयारी गरिरहेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।