नयाँ दल दर्ताका लागि निवेदन


काठमाडौं, (नेस)

झलनाथ खनाल–माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।अनेरास्ववियु सचिवालय सदस्य संखुवासभाका राईले पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिह्न ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन दिनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयोे ।

सो पार्टीको उपाध्यक्षमा कास्कीका कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोदकुमार खुलाल रहनुभएको छ । सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहनुभएको छ ।यसअघि कलम चिह्नबाट गत जेठ ६ गते वागमती प्रदेश अन्यतर्फ रिक्त राष्ट्रिय सभाको सदस्य पदमा संघीयता विज्ञ खिमलाल देवकोटा निर्वाचित हुनुभएको थियो ।

पछिल्लो समय एमालेभित्रको विवाद बढेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्नुभएको थियो । त्यस्तै निर्वाचन आयोगमा नेकपा नाममा अर्को दल पनि दर्ताका लागि निवेदन परेको छ । नेकपा लोकतान्त्रिक नामक दलले निवेदन दिएकोमा आयोगले विधान संशोधनका लागि फिर्ता पठाइदिएको छ । सो दलले गोलाकारभित्र पाँचकुने तारा चुनाव चिह्न राख्न प्रस्ताव गरेको थियो ।