राष्ट्रपतिको स्वविवेकीय अधिकारमा प्रश्न गर्न मिल्दैन: प्रधानमन्त्री


नेपाल समाचारपत्र, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्तिको आधार ठहर गर्ने राष्ट्रपतिको एकमात्र स्वविवेकीय अधिकार भएकाले कहीं पनि उजुरी नलाग्ने बताउनुभएको छ ।

आइतबार बालुवाटारमा पत्रकारहरुसँगको लामो कुराकानीमा प्रधानमन्त्री ओलीले संविधानले प्रदत्त गरेको सरकार गठनका सबै प्रयासहरु असफल भएपछि राष्ट्रपतिले स्वविवेकीय अधिकार प्रयोग गरी संसद् भंग गरेकाले त्यसविरुद्ध प्रश्न गर्ने ठाउँ नभएको बताउनुभएको हो ।
झण्डै दुई घण्टासम्म भएको पत्रकाहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओली पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि बढी खनिनुभएको थियो । उहाँले भन्नुभयो– ‘संसदीय इतिहासमा संसारभर प्रयोग नभएको गाईजात्रा देखाएर नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कीर्ते हस्ताक्षर गर्न उहाँले गर्नुभएको हर्कतलाई इतिहासले माफी दिने छैन ।’प्रधानमन्त्री ओलीले म एमालेको वरिष्ठ नेता भनेर सही गर्ने योभन्दा निर्लज्जता संसारमा केही नभएको भन्दै आफ्नै नेताविरुद्ध शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर म एमालेको वरिष्ठ नेता भनेर निच्च देखाउन लाज लाग्नुपर्ने हो तर उहाँमा नैतिकता छैन जे पनि गर्न तयार हुनुहुन्छ भन्नुभयो ।

आफ्नै पार्टीविरुद्ध लाग्न उहाँले डुप्लिकेट पार्टीसमेत दर्ता गरेर आफूमाथि षड्यन्त्र नै षड्यन्त्र गरेको भन्दै प्रधानमन्त्री ओलीले हामीले उहाँहरुलाई स्पष्टीकरण सोधेकाले त्यहीअनुरूप जाने बताउनुभयो ।प्रधानमन्त्री ओलीले लोकतान्त्रिक पार्टी भन्ने अनि प्रचण्डपथलाई आत्मसाथ गर्ने उहाँलाई समेत जनताले नजिकबाट हेरिरहेको दाबी गर्नुभएको थियो । आज लोकतन्त्रलाई कमजोर पार्ने काम मुलुकका चार नेताबाट भएकाले गन्धा राजनीति छोड्नसमेत प्रधनमन्त्री ओलीले आग्रह गर्नुभएको थियो ।‘अहिले त आफूलाई प्रजाततन्त्रवादी भन्ने पार्टी पनि प्रचण्डपथमा हिँडेजस्तो लाग्छ’, उहाँले भन्नुभयो– ‘मलाई नेपाली कांग्रेसको बोली सुनेर आश्चार्य लागेको छ । नेपाली कांग्रेस उत्तेजना र आवेशमा प्रचण्ड पथमा लाग्यो ।’ ‘ओलीले गरेको चुनावमा कांग्रेसले भाग नलिने भन्ने सुनेको छु । कांग्रेसले कसले गरेको चुनाव भाग लिन्छ त ?’ –ओलीको प्रश्न छ ।प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई मान्दैनौं भन्दै जंगल पसेकाहरुको सत्ता कब्जाको प्रयास असफल भएपछि संसदीय राजनीतिलाई उपहास गर्ने ढंगले फेरि पनि सत्ता कब्जाको प्रयास भएको भन्दै त्यसलाई सफल हुन नदिन आम पार्टी कार्यकर्ताहरुलाई आग्रहसमेत गर्नुभएको थियो । अघिपछि बोलीपिच्छे उखान टुक्का सुनाएर हसाउने प्रधानमन्त्री आइतबार भने संयमित भएर आफ्नो भनाइ प्रस्तुत गर्नुभएको थियो ।

‘नो खोप नो भोट यो अभियान चलाएको भन्ने मैले पनि सुनेको छु’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘यो जनताको सवभौम अधिकारमाथि खेलवाड गर्ने काम क्षम्य छैन । सरकारले चुनावअघि नै सबै जनतााई खोप लगाउने तयारी गरिरहेको छ ।’उहाँले चुनावका लागि राष्ट्रिय सरकार बनाउन आफू तयार रहेकाले सबै दल चुनावी सरकारमा आउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘चुनाव निष्पक्ष हुन्छ, राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षक बोलाएर निर्वाचन गरिनेछ । आज सीसीटिभी क्यामराको जमाना हो । आजको समय भनेको ड्रोनको जमाना भएकाले आगामी दिनमा हुने चुनावको गतिविधि खिच्नेछ ।