एकोहोरो प्रेमको आशक्तिले बालकहरुको हत्या

434
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

जेठ ३ गते साँझ करिब ७ बजेदेखि बेपत्ता भएका बाराको कलैया उपमहानगरपालिका वडा–७, रंगपुर टोल बस्ने अब्दुल गफार अन्सारीको छोराद्वयको हत्या गरेको अभियोगमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । वर्ष ९ का अमान अन्सारी र वर्ष ७ का उस्मान अन्सारीको हत्या अभियोगमा कलैया उपमहानगरपालिका वडा–७ को रंगपुर टोल बस्ने करिब २५ वर्षीय फरमुल्लाह अन्सारी पक्राउ परेका हुन् । एकोहोरो प्रेम/प्रेममा आशक्ति, अवैध सम्बन्ध बाहिरिने डर, ऋण पचाउने उद्धेश्य, भागेर जाने सन्दर्भमा बालकहरु बाधक देखिएका कारण हत्या भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ती बालकहरुको खोजतलास गर्ने क्रममा ४ गते विहान करिब ८ बजे वडा–११ स्थित मदरसा सल्फिया कञ्जलुमको निर्माणाधीन भवनको कोठामा शव फेला परेको थियो । शव फेला परेको सूचना प्राप्त हुनासाथ प्रहरी उपरीक्षक दीपेन्द्र शाहीको कमाण्डमा प्रनाउ तथा अनुसन्धान अधिकृतसमेतको टोली घटनास्थलमा खटिएको थियो । ती बालकहरुको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको देखिएकाले घटनास्थल सुरक्षित राखी तालिमप्राप्त कुकुरसहित विशेषज्ञ प्रहरी टोली झिकाएर घटनास्थलको सूक्ष्म अवलोकन गरिएको थियो ।

घटना अनुसन्धानका लागि प्रनाउ गौतम मिश्रको कमाण्डमा ९ सदस्यीय अनुसन्धान टोली गठन गरी ५० जनासँग बुझ्ने कार्य भएको, विभिन्न प्रविधि प्रयोग गरी अनुसन्धान गरिएको र अनुसन्धानका क्रममा पोलिग्राफसमेत प्रयोग गरिएको थियो । घटना अनुसन्धानको लागि तालुक २ नम्बर प्रदेश प्रहरी कार्यालयबाट प्रनि उमाशंकर प्रसाद साहको कमाण्डमा टोली खटिएर दुवै टोलीले संयुक्तरुपमा अनुसन्धान गरेका थिए । मृतकहरुका बाबु ३ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । मृतकहरुकी आमा, एक दिदी र एक बहिनी गरी परिवारमा ५ जना छुट्टै घरमा बस्ने गरेका थिए । सहयोग आदानप्रदान हुँदै गर्दा अभियुक्त र मृतकहरुकी आमाबीच घनिष्टता र हिमचिम बढेको प्रहरीको भनाइ छ ।

पति घरमा नभएको अवस्थामा अभियुक्तले भाउजु नाता पर्ने मृतकहरुकी आमासँग छोराहरुलाई घरमा नै छाडी भारत गएर बसौं भनी बारम्बार दबाब दिने गरेको प्रहरी निष्कर्ष छ । मृतकहरुकी आमाले छोराहरुलाई छाड्न नमानेकाले सोका लागि मृतकहरु बाधक भए । मृतक छोराहरुका कारणले आफ्नो र मृतकहरुकी आमाबीचको सम्बन्ध सफल हुन नसक्ने देखेपछि अभियुक्तले धम्की दिएका थिए–पख् तलाईं छोराहरुको घमण्ड छ हैन । देखाइदिन्छु ।
घटनाबारे गाउँमा बुझ्दा अभियुक्तले मृतकहरुलाई केही समयदेखि मिठाइ किनिदिने, घुमाउन लैजाने गरेको तथा मृतकहरु समेत उनको साथमा जाने गरेका थिए ।

आमा र अभियुक्तबीच सम्बन्धका विषयमा ती बालकहरुलाई थाहा भएको र इदमा बुबा फर्कँदा सबै कुरा भनीदिन्छु भनी मृतकहरुले भन्ने गरेका थिए । आफ्नो र मृतकहरुकी आमाबीचको सम्बन्धका विषयमा भेद खुल्ने डर अभियुक्तलाई थियो । अभियुक्तले मृतकहरुकी आमासँग लिएको ऋण हालसम्म चुक्ता नगरेको प्रहरी बताउँछ । घटनाको दिन मृतकहरुकी आमा नातामा भाइ पर्नेको मृत्युको दाहसंस्कारमा सरिक हुन माइत गएकी र घरमा बालकहरुमात्र भएको मौका छोपी अभियुक्तले साँझपख लोभलालचमा पारी एकान्तस्थलमा बोलाए । र, हत्या गरे । राति नै भागे । विहान ४ः४१ बजे कलैया बजार चोकमा असामान्य तरिकाले हिँडेको सीसी क्यामरामा कैद भएको थियो ।
विहान बालकहरुको शव फेला परेपछि अभियुक्तसमेत घटनास्थल पुगेका थिए । तर, तालिमप्राप्त कुकुर आउँदैछ भन्ने थाहा पाएपछि उनी फरार भए ।