मोतीराम तिमल्सिना, काभ्रे ।
घटना १,
सम्पति छ । सन्तान छन् । आफन्त छन् । छिमेकी छन् । समाज पनि छ । तर संकटमा नजिक कोहि छैन । कोभिड-१९ ले निम्त्याएको संकटले झनै टाढा बनाउँदै छ समाज । भावना भएर मात्रै हुँदो रहेनछ त्यसको स्पर्श हुन नसक्दा ब्यक्तिले मानव भएको महसुस गर्न सक्दैन ।
बनेपा नगरपालिका वडा नम्वर १० मा एउटा परिवार छ । त्यो परिवारका सन्तान अमेरिकामा छन् । अमेरिकाबाट हरेक दिन अभिभावकलाई गर्नु पर्ने माया, सद्भाव र रेखदेख नियमित हुन्छ । प्रविधिको माध्यमबाट गर्नु पर्ने कर्तब्य सबै पुरा भएकै छ । अभिभावकसँग सन्तान नहुँदा जतिसुकै माया गरेको लागे पनि अपुरा हुने रहेछ । घर छ । सम्पति प्रशस्तै छ । आफन्तहरु पनि छन् । दाजुभाई पनि छन् । तर यो संकटमा कोहि आफ्ना हुन सकेनन् । भाडामा बस्नेहरु सहयोगिकै रुपमा थिए । सरकारले लगाएको निषेधाज्ञाले उनिहरु पनि आफ्नै घर गाउँ फर्के । घरमा जेष्ठ नागरिक दुई जना मात्रै ।
शुरुमा जेष्ठ नागरिक मध्ये महिलालाई अलिक गाह्रो भयो । अमेरिकामा रहेका सन्तानलाई समस्या बताए । बनेपामा रहेका आफन्तलाई खबर गरे । कोभिडको आशंकामा घर भित्र कोहि जान मानेनन् । जेष्ठ नागरिक दुबैले खाना पकाउन सक्ने अवस्था पनि रहेन । केहि छाक भोकै बस्न बाध्य भए । साथिभाईले घरको मुल ढोकामा खानाको प्याकेट ल्याएर राखिदिए । बनेपाका सक्रिय युवाहरुले केहि दिन खाना ढोकामा पुर्याए । ढोकामा राखेको खाना समेत माथी लैजाने हिम्मत दुबैमा भएन । दुबै जनालाई कोभिडको लक्षण मिल्न गयो । ज्वरोका कारण थलिएका बृद्धबृद्धाको उपचार आवश्यक भयो । अस्पताल लैजाने सन्तान नेपालमा छैनन । आफन्त, छिमेकी त झनै भएनन । कोभिड सर्ने डरले घरमा प्रवेश गर्न कसैले साहस देखाएनन । सन्तान अमेरिकामा । अभिभावकको चिच्याहट नेपालमा ।
अमेरिकामा रहेका सन्तानले धेरै ठुलो प्रयास पछि अस्पतालमा सम्पर्क गरे । बनेपा नगरपालिकाले खोलेको कोभिड डेडिकेटेड अस्पतालले सन्तानको मञ्जुरीनामा माग्यो । इमेल मार्फत सन्तानको मञ्जुरी प्राप्त गरे पछि बनेपाको कोभिड डेडिकेटेड भोमी अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले घरबाटै दुबै जनाको उद्दार गरी अस्पताल ल्यायो । कोभिड पोजेटिभ देखिए सँगै उहाँहरु दुबैजनालाई आईसियु कक्षमा राखेर उपचार शुरु गरिएको छ । जेष्ठ नागरिक दम्पतिका लागि अस्पताल सन्तान भन्दा माथी भगवान बनिदियो । दम्पती दुबैले भोमी कोभिड डेडिकेटेड अस्पताललाई धन्यवाद दिएका छन् ।
(तस्विरः बनेपाका सक्रिय युवाहरुले जेष्ठ दम्पतीका लगि लगिदिएको खानाको पोका ढोकामा । तस्विरः सौजन्य)
घटना २
बनेपा नगरपालिका वडा नम्वर ७ । बनेपाको मुख्य चोक चारदोबाटो । पुरानो त्रिभुवनको शालिकको अगाडी । अग्लो घर । ब्यस्त सडक । २०७८ बैशाख २५ गते ४० बर्षिया महिलाको कोरोनाका कारण उपचारकै क्रममा निधन भयो । भाडामा कपडा पसल चलाउँदै आएकी महिलाको निधन पछि घरधनीलाई छट्टपट्टि भयो । बैशाख २६ गते घर धनी ४६ वर्षिय युवा बनेपा नगरपालिकामा स्वाव परिक्षणका लागि पुगे । ढिलो भएका कारण स्वाव नदिई फर्किए । केहि दिन देखि उनमा कोरोनाको लक्षण मिल्दोजुल्दो ज्वरो थियो । बैशाख २७ गते विहानै ओछ्यानमै उनको निधन भयो ।
शंकास्पद कोरोना । भाडामा बस्नेको कोरोनाबाट निधन । परिवार आत्तियो । आफन्तलाई खवर गरे । तत्काल घर भित्र कोहि जान सकेन । प्रहरी, प्रशासन, सेना, स्वास्थ्यकर्मी सबैलाई हारगुहार भयो । घर भित्र प्रवेश गरी शव उठाएर अन्त्येष्टी गर्न कोहि तयार भएन । जनप्रतिनिधि, नगरपालिका सबैको प्रयास निरर्थक रह्यो । अन्ततः आफन्तहरुले पशुपतिबाट शव उठाउने तीन ब्यक्ति ल्याए । दिउसो ४ बजे ओछ्यानमै रहेको शवलाई तन्नामा पोको पारेर बोलेरोमा अन्त्येष्टीका लागि पशुपति पुर्याईयो । न छिमेकी, न दाजुभाई, न आफन्त । कोरोनाको त्रासले आफन्तले शव छुने आँटसम्म गर्न सकेनन । श्रीमती र तीन छोरीका आँशु रोकिएनन । परिवार शोकमा छ ।
(तस्विरः बनेपामा भएको कोरोनाको लक्षणसँग मिल्दो तर परिक्षण नगरिएका युवाको शव उठाईदै )
जिल्लाका दुई नमुना घटना । यस्ता घटनाले समाजमा मानवियता हराउँदै गएको पुष्टी गराउँछ । कोरोना संक्रमण फैलन नदिन राख्नु पर्ने भौतिक दुरीका कारण मान्छे भित्रको मान्छे हराउँदै जान थालेको छ । एक पछि अर्काे संकट टार्न सुरक्षाका सबै उपाय अपनाउँदै मानविय सेवामा लाग्नु पर्ने आजको पुस्ता समेत यस्ता घटनामा रमिते बन्न बाध्य भएको छ । देखासिखीले सन्तानको खुशी भन्दै विकसित राष्ट्र पठाउने अभिभावकले भोग्न थालेका यस्ता कयौ समस्या छन् । सबैथोक छ सन्तान आफुसँग छैनन । सम्पति छ आफन्त छैनन । मान्छे आफ्नो रोग हैन । जिल्लामा फैलदै गएको संक्रमण न्युनिकरण, रोकथाम र उपचारमा सहजिकरण गर्न बनेपाका युवाहरुले अनलाईन अन्र्तक्रिया संचालन गरिरहेका छन् । उक्त छलफलमा यस्ता समस्याहरु समाधानका लागि युवाहरुको सक्रियताका बारेमा छलफल भएको बनेपाका सक्रिय युवा सुरज मकै श्रेष्ठले बताउनु भयो ।
कोरोना भाईरसका कारण भन्दा शंकास्पद निधन धेरै हुन थालेको स्थानीयहरुले बताएका छन् । परिक्षण नै नगर्ने प्रवृत्ति, परिक्षण सहज नगरिदिने स्थानीय सरकार र उपचार पाउन सकिदैन भन्ने डरका कारण सर्वसाधारणले परिक्षण र उपचार विना नै ज्यान गुमाउन थालेका छन् ।
प्रतिक्रिया