कांग्रेसद्वारा २५० अक्सिजन सिलिण्डर सहयोग

14
Shares

न्युज अफ नेपाल, हेटौंडा ।

नेपाली कांग्रेस कोभिड अनुगमन समिति मकवानपुरले हेटौंडा अस्पताल र मकवानपुर उद्योग बाणिज्य संघ कोभिड हेल्थडेस्कलाई ६० थान भरेको अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।

अनुगमन समिति मकवानपुर संयोजक उत्सव इटेनीले आइतबार अस्पतालपरिसर पुगेर मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान संयोजक चिरञ्जीवी चुँडाललाई ५० थान र मकवानपुर उद्योग वाणिज्य संघको कोभिड हेल्थडेस्कलाई १० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गर्नुभएको हो ।

हेटौंडा–५, भैरवरोडकी समाजसेवी लता पराजुलीको विशेष आर्थिक सहयोगमा कांग्रेस कोभिड अनुगमन समिति मकवानपुरले सिलिण्डर उपलब्ध गराएको हो । अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, मउवा संघ कोषाध्यक्ष कृष्ण अग्रवाल, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिबहादुर खड्का, कांग्रेस कोभिड अनुगमन समिति सचिव मणिराज गौतम, कोषाध्यक्ष जानुका गिरी, सदस्यहरु रामकृष्ण कोइराला, सञ्जय श्रेष्ठ, सुनिल गिरी, सुजन बिडारी, डोल्मा स्याङ्बो र मदन जोशीलगायतको उपस्थिति थियो ।

नेपाली कांग्रेस कोभिड अनुगमन समितिले यसअघि पटकपटक गरेर २ सय ५० थान अक्सिजन सिलिण्डर हेटौंडा अस्पताललाई सहयोग गरिसकेको छ भने अग्रस्थानमा खटिने नेपाल पत्रकार महासंघ मकवानपुरलाई नगद ३० हजारसहित मास्क, सेनिटाइजर, वडा प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई मास्क तथा सेनिटाइजर सहयोग गरेको अनुगमन समिति संयोजक इटेनीले जानकारी दिनुभयो ।