डेमोक्रेसीले निशुल्क एम्बुलेन्स सेवा संचालन गर्दै


अमृत अर्याल, स्याङजा ।

स्कुल अफ डेमोक्रेसी स्याङजाले कोरोना संक्रमितका उपचारार्थ निशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ । राजनैतिक अधिकारका साथसाथै मानवीय अधिकार स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रमा क्रियाशिल डेमोक्रेसीले यही जेठ १० गतेदेखि निशुल्क एम्बुलेन्स सेवा संचालन सुरु गर्ने भएको हो ।

जिल्ल्लामा कोरोना संक्रमितसंगै मृतकको संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा उपचारका लागि पोखरा तथा सुबिधासम्पन्न अस्पतालमा लानु पर्दा थप एम्बुलेन्स पनि आवश्यक भएकाले डेमोक्रेसीले निशुल्क एम्बुलेसन्स संचालन गर्ने निर्णय गरेको हो । यहाँका ११ वटै पालिकालाई लक्षित गर्दे सेवा उपलब्ध गराउनेगरी सेवा संचालनमा ल्याइने भएको स्कुल अफ डेमोक्रेसी स्याङजाका अध्यक्ष ई. अनुप श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले भन्नुभयो ‘ हाम्रो सामाजिक उत्तरदायित्व अनुरुप जिल्लाभर समेट्नेगरी विपन्न बर्ग लक्षित निशुल्क एम्बुलेन्स सेवा’ संचालन गर्नेछौं । सबै पालिकामा गठित डेमोक्रेसी पालिका संयोजकले बिरामी तथा उनका परिवारसंग समन्वय गरी अस्पतालसम्म पु-याउने ब्यवस्था मिलाइएकोे श्रेष्ठले बताउनुभयो ।

परोपकारी अभियानको सहयोगका लागि भन्दै पोखरा महानगरपालिका पृथ्वीचोक स्थित होटल तिरुपतिका संचालक प्रल्हादजंग मरासीनीले अभियान अवधिभर निशुल्क एम्बुलेन्स गाडी उपलब्ध गराउनुभएको छ । मरासीनीले आफुले प्रयोग गर्दे आएको सवारी साधनलाई एम्बुलेन्सका लागि उपलब्ध गराउनुभएको हो । मरासीनी पुतलीबजार नगरपालिका ३ स्याङजाबासी हुनुहुन्छ । साथै डेमोक्रेसीका पुतलीबजार नगर संयोजक पनि हुनुहुन्छ । परोपकारी तथा सामाजिक सेवामा सहयोग गरी सफल बनाउन सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था, बिद्यार्थी संघसंगठन, स्वदेश तथा विदेशमा रहनुहुने दाजुभाई दिदीबहीनी सबैलाई डेमोक्रेसी स्याङजाको अनुरोध छ । स्कुल अफ डेमोक्रेसीले जिल्लाका सबै पालिकामा आफ्ना संजाल बिस्तार गर्दे संजाल मार्फत बिभिन्न सामाजिक सेवा गर्दे आएको छ ।
तस्विर ः समायाबधिभर निशुल्क सवारी साधन उपलध गराउने तिरुपतिका संचालक प्रल्हादजंग मरासीनी ।