कोरोना उपचारका लागि एकै वडाबाट दशलाख बजेट


गणेश घिमिरे ,इलाम । 

बिकास बजेटको रकमलाई कटौती गर्दै इलाम नगरपालिकाको एकै वडाले कोरोनाको उपचार तथा रोकथामका लागि अस्पताललाई लाखौं रुपैंयाँ बजेट बिनीयोजना गरेको छ । इलामनगरपालिका वडा नम्बर ७ ले बिकास बजेटलाई कटौती गरेर कोरोनाको उपचार तथा रोकथामका लागि इलाम अस्पताललाई दशलाख रुपैंयाँ बजेट बिनीयोजन गरेको हो ।

वडाध्यक्ष नरेश श्रेष्ठले कोरोना संक्रमितको उपचारलाई सहज बनाउनका लागि इलाम अस्पताललाई आफ्नो वडाको तर्फबाट १० लाख रुपैयाँ बिनीयोजन गरेको बताउनुभयो । स्रोत साधन र जनशक्तिको अभावमा इलाम अस्पतालमा उपचार प्रभावकारी बन्न नसकिरहेको बेला वडाको यो निर्णयलाई इलामबासीले स्वागतयोग्य कदम भनेका छन् । महामारीका कारण योजनाको काम गर्नु समस्या भएको र यतिबेला योजनाभन्दा महामारी नियन्त्रण र विरामीको उपचारलाई प्राथमिकता दिनुपर्ने भएकाले अस्पताललाई उक्त रकम बिनीयोजना गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यता कोरोना संक्रमितहरुका लागि आउने सहयोगलार्ई पारदर्शि रुपमा परिचालन गर्न इलाममा स्थापित कोभिड व्यवस्थापन राहत कोष मार्फत इलाम अस्पताललाई ६ लाख रुपैंयाँ बराबरको स्वास्थ्य सामाग्री हस्तातरण गरीएको छ । कोरोना महामारीका क्रममा देश विदेशमा रहेका दाताहरुबाट आर्थिक संकलन गरी स्वास्थ्य सामाग्री खरदि गरेर अस्पताललाई उपलब्ध गराएको कोष परिचालन समितिका निरोज खड्गीले जानकारी दिनुभयो ।