प्रतिनिधिसभालाई पुनःस्थापना गरी संविधान बचाउन माग


काठमाडौं, (नेस)

विघटन गरिएको प्रतिनिधिसभालाई पुनःस्थापना गरी संविधानलाई यथास्थानमा ल्याउन विभिन्न निकायले माग गरेका छन् ।सर्वोच्च अदालत बार एसाोसिएसनलगायतले शनिबार प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा प्रतिनिधिसभा विघटन गरी संविधानविपरीत कार्य गरिएको उल्लेख गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेका हुन् ।

सर्वोच्च अदालत बार एसाोसिएसनले विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा प्रतिनिधिसभा विघटन गरिएको र यस्तो कार्य संविधानमाथिको कपटपूर्ण, जालसाजी र धोका भएको टिप्पणी गरेको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘राजनीतिक दलहरूका गतिविधि र सांसदहरूको हस्ताक्षरको दोहोरो प्रयोगको विवाद र संसद्बाहिर निक्र्यौल निकालिने कार्यले संसदीय लोकतान्त्रिक प्रणाली माथि नै गम्भीर प्रहार गरेको छ ।’राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा विघटन गरिएको कार्य सर्वथा अलोकतान्त्रिक एवं निरङ्कुशतर्फ उन्मुख रहेको सर्वोच्च बारले स्पष्ट गरेको छ ।राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मध्यरातमा आउँदो कात्तिक अन्तिम र मंसिरको पहिलो साता निर्वाचन गर्ने गरी मिति तोक्नुभएको थियो । संविधानको भावना, मूल्य र मान्यतालाई अक्षरसः पालना नै नगरी संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभाको विघटन गर्ने र अर्को प्रतिनिधिसभाको निर्वाचनको मिति तोक्ने कार्य अलोकतान्त्रिक एवं निरङ्कुशतर्फ उन्मुख भएको सर्वोच्च बारको ठम्याइ छ ।

यसै गरी, संवैधानिक कानुन व्यवसायी मञ्चले पनि विज्ञप्ति जारी गरी स्वेच्छाचारीरूपमा प्रतिनिधिसभालाई विघटन गरिएको कार्यलाई सच्याई संवैधानिक सर्वोच्चता कायम गर्न माग गरेको छ । विज्ञप्तिमा वैकल्पिक सरकार गठन हुन सक्ने वा नसक्ने भन्ने विषयमा प्रतिनिधिसभाबाट वस्तुगतरूपमा निक्र्यौल नहुँदै मनोगत तथा आत्मनिष्ट तर्क र अनुमानको आधारमा प्रतिनिधिसभा विघटन गरिनु गैरसंवैधानिक भएको उल्लेख गरिएको छ ।कोभिड माहामारीबाट पिल्सिएका नेपाली जनतालाई संरक्षण गर्नुपर्ने गहन जिम्मेवारी बहन गर्नुपर्ने अवस्थामा निकृष्ट राजनीतिक स्वार्थ सिद्ध गर्न गरिएको चाल लज्जाको विषय भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।‘राजनीतिक दल तथा नेताहरू शक्तिको छिनाझम्टीमा लाग्ने स्थिति निर्माण हुनु र बेथिति बढ्दै गएको जटिल अवस्थामा राष्ट्र प्रमुखको भूमिका निष्पक्ष र अभिभावकीय बन्न नसक्नु राष्ट्रिय लज्जाकोे विषय बनेको छ ।’ –मञ्चको विज्ञप्तिमा उल्लेख गरिएको छ ।