मन्त्री आलेका पहलमा अक्सिजन प्लान्ट खरिद र एचडियु बेड जडान गर्न बजेट

0
Shares

विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट खरिद, तथा एचडियु सहित पाँच बेड बिस्तार (जडान) का लागि रु ८० लाख रकम बिनियोजन भएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमणका बिरामीलाई अक्सिजन तथा एचडियु बेड अभावमा समस्या उत्पन्न भएपछि मन्त्रीआलेका पहलमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद तथा स्थापना सहित पाँच बेडको एचडियु बिस्तारका (जडान) लागि अर्थ मन्त्रालयले रु ८० लाख बजेट विनियोजित गरेको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

जिल्लामा अक्सिजन प्लान्ट स्थापनासँगै पाँच बेड सहितका एचडियु सञ्चालन भएपछि यहाँका बिरामीका लागि उपचारमा निकै सहज हुने जिल्ला अस्पताल डोटीका मेडिकल सुपरीटेन्डेन्ट कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्त्रीज्यूको पहलमा केही दिन पहिले अक्सिजन प्लान्टका लागि बजेट बिनियोजन भएको थियो, आज पुनः अर्थ मन्त्रालयले अक्सिजन खरिद स्थापना सहित एचडियु बेड बिस्तार गर्न थप बजेट विनियोजन भएको छ, यो निकै खुशीको कुरो हो ।” मन्त्री आलेको पहलमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सहित एचडियु बेड बिस्तार हुने भएपछि जिल्लावासीमा खुशीयाली छाएको जिल्ला अस्पतालका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार अक्सिजन प्लान्ट तथा एचडियु कम्तिमा पनि दुइ महिना भित्रमा स्थापना भइसक्ने लक्ष लिइएको छ ।

जिल्लामा कोरोना सङ्क्रमणले त्यहाँका नागरिकहरुलाई दिनप्रतिदिन समस्या गर्न थालेपछि मन्त्री आलेले पटक पटक अक्सिजन, मास्क, स्यानीटाइजर लगायतका स्वास्थ्य सामग्री बितरण गर्दै आउनु भएको छ । मन्त्री आलेको पहलमा यस अघि उक्त अस्पतालमा अक्सिजन पाइप लाईन तथा प्लान्ट (कारखाना) स्थापनाका लागि अर्थ मन्त्रालयले रु एक करोड ५० लाख बजेट विनियोजित गरेको थियो । पछिल्लो समय जिल्लामा अक्सिजन नभएका कारण कोरोना सङ्क्रमणका बिरामीले अकालमै ज्यान गुमाएका थिए ।