सिन्धुलीमा थप एक संक्रमितको मृत्यु, ७३ मा संक्रमण

0
Shares

बुद्ध नेपाली, सिन्धुली ।

दोस्रो लहरको कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण सिन्धुलीमा शुक्रवार(आज) थप एक जनाको मृत्यु भएको छ । कोरोना भाईरसको संक्रमणका कारण कमलामाई नगरपालिका वडा नम्बर ३ का ५७ वर्षिय पुरुषको मृत्यु भएको हो ।

मृतक पुरुषकोे स्वाब परिक्षण गर्दा बैशाख १७ गते कोरोना संक्रमण भएको पुष्टी भएको सिन्धुली अस्पतालको कोभिड १९ फोकल पर्सन डा.सागर देवकोटाले बताउनुभयो । संक्रमण पुष्टी भएपछि बैशाख १९ गते सिन्धुलीमाढी स्थित कोभिड अस्पतालमा उपचार भईरहेको थियो । डा.देवकोटाका अनुसार संक्रमित पुरुषमा कोरोनाका लक्षण खासै नदेखिएको डाक्टर देवकोटाले बताउनुभयो ।

मृतक पुरुष लडेर करङ भाचिएको र छातीमा समस्या भएकाले उपचाररत हुनुहन्थ्यो । मृतक पुरुषमा दमको पनि समस्या रहेको अस्पतालले जनाएको छ । यो संगै जिल्लामा दोस्रो लहरको कोरोना संक्रमणका कारण जिल्लाभर १३ जनाको मृत्यु भईसकेको छ । सिन्धुलीमा केहि दिनयता फेरी कोरोना संक्रमित बढ्न थालेका छन् । गएको तिन दिनमा कोरोना संक्रमण पुष्टी हुनेको संख्या दैनिक बढ्दै गएको हो ।

शुक्रवार(आज) थप ७३ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । एक सय १५ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा ७३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । योसँगै सिन्धुलीमा दोस्रो लहरको कोरोना भाईरस संक्रमित हुनेको संख्या ८ सय ८७ जना पुगेको स्वास्थ्य कार्यालय सिन्धुलीका कोरोना फोकलपर्सन सन्तोष कुमार माझीले जानकारी दिनुभयो । दोस्रो लहर सुरु भएपछि हाल सम्म २ हजार ३५ जनाको पिसिआर परिक्षण गर्दा ८ सय ८७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । शुक्रवार (आज) महिला २५ जना र पुरुष ४८ जनामा कोरोना संक्रमण पुष्टी भएको फाकलपर्सन माझीले जानकारी दिनुभयो ।

आज जिल्लामा आज कोही पनि कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छैनन् । जिल्लाका अधिकांस संक्रमित होम आईसोलेसनमा रहेका छन । स्वास्थ्य कार्यालय सिन्धुलीको तथ्यांक अनुसार जिल्लाका ७ सय ४३ जना संक्रमित होम आईसोलेसनमा रहेकाछन भने संस्थागत आईसोलेसनमा २७ जना मात्रै रहेका छन् ।