संक्रमण फैलिनुको कारक पीसीआर रिपोर्ट !


भूपराज बस्याल, स्याङ्जा

पीसीआर रिपोट आउँदासम्म बिरामीको मृत्यु भइसक्ने वा निको भइसकेको हुने भइरहेको छ । जिल्लामा द्रुुत गतिमा संक्रमण फैलिनुको कारक पनि ढिला रिपोर्ट आउनु भएको सरोकारवालाहरुको पनि टिप्पणी छ । पछिल्लो ३७ दिनभित्र ५९ जनाको मृत्यु हुनु ज्वलन्त उदाहरण हो– पीसीआर रिपोर्ट समयमा नआउनु ।

जिल्लालाई लकडाउन गरेर दोस्रो संक्रमणको स्थितिबाट नियन्त्रणमा लिन खोजे पनि त्यसको परिमाण भने सन्तोषजनक आउन सकेको छैन । जेष्ठ ६ गतेसम्म वैशाख ३१ गतेसम्मको मात्रै पीसीआर रिपोट आएको जिल्ला जनस्वास्थ्य निमित्त प्रमुख विष्णुप्रसाद सुवेदीले जानकारी दिनुभयो । ६÷७ दिनसम्म रिपोट आउन नसक्नु संक्रमण फैलिनु एउटा कारक भएको भन्दै यसको व्यवस्थापनका लागि पटक–पटक प्रदेश अस्पताललाई आफूले जानकारी गराइसकेको उहाँको भनाइ छ । ‘हामीले स्वाब संकलन गरेर पोखरा पठाउने गर्छाै पोखरा प्रदेश अस्पतालबाट रिपोर्ट आउनै ढिला हुन्छ ।’ –सुवेदी भन्नुहुन्छ ।

त्यस्तै, नेकपा एमाले स्याङ्जा जिल्लाका अध्यक्ष सूर्यप्रसाद गैरे ‘पारस’ ले पनि पीसीआर रिपोट समयमा नआउनु जिल्लामा मृत्युदर बढ्नु कारक बनेको भन्दै यसतर्फ सम्बन्धित निकाय बेलैमा ध्यान जानुपर्ने कुरा उल्लेख गर्नुभयो । मृत्युपछि मात्रै रिपोट आउने हुँदा पनि जिल्लामा लास व्यवस्थापनमा समस्य भएको प्रहरी प्रमुख होविन्द्र बोगटी बताउनुहुन्छ ।यो समस्या अब २-३ दिनमै समाधान हुने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको भनाइ छ । अहिलेसम्म यस्तो समस्य देखिए पनि छिट्टै यस्तो समस्य समाधान गर्ने गरी काम अगाडि बढिरहेको उहाँको भनाइ थियो ।