२० रुपैयामा खाना खुवाउने मनकारी भेएटिएपछि


कुमार श्रेष्ठ बाँके ।

भेरी अस्पताल, नेपालगञ्जमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट विरामी ‘रिफर’ भएर आउने प्रमुख सेन्टरको रुपमा चिनिएको छ ।कोरोना महामारी भएकाले अहिले त झन् भेरीमा विरामीको चापाचाप बढी नै रहेको छ ।

भेरीको कोरोना वार्डमा विरामी र कुरुवाको भीड थेगिनसक्नुको अवस्था रहेको छ । कोरोना महामारीको चेन ब्रेक गर्न भन्दै स्थानीय प्रशासनले तीन हप्तादेखि निषेधाज्ञा लगाइरहेको छ ।बाहिरी होटल बन्द छन् । यस्तोमा अस्पतालमा आएका विरामी र कुरुवालाई खानाको समस्यामा परेका छन ।विरामी र कुरुवाको यो विचल्ली देखेर सुन्दर काण्ड मित्र मण्डलले भेरी अस्पताल परिसरमै अन्जनी माता रसोई सञ्चालन गरिरहेको छ । यहाँ विहान र बेलुका प्रति छाक २० रुपैयामा खाना खान पाइन्छ ।

अस्पताल परिसरमै सस्तोमा खानाको व्यवस्था भएपछि कुरुवा र विरामीलाई ठूलो राहत मिलेको छ। मधेसी आयोगका सदस्यसमेत रहेका विजय गुप्ताको अगुवाईमा भेरी अस्पतालमा सस्तोमा खानाको व्यवस्था गरिएको हो ।नेपालगञ्ज उपमहानगरपालिकाले खानाका लागि मासिक डेढ लाख रुपैया सहयोग गर्दै आएको छ । दुगड गु्रपले २० दिनको लागि पुग्ने रासन सहयोग गर्न थालेको छ । जिल्ला भित्र र बाहिरबाट पनि सहयोग जुट्न थालेको छ ।महामारीको बेलामा गतवर्ष पनि भेरीमा खाना खुवाइएको थियो । त्यतिबेला उपमहानगरपालिकाले मासिक ५० हजार दिने गरेको थियो । अरु अपुग रकम मण्डलले सरसहयोगबाट चलाइरहेको थियो ।यो वर्ष कोरोनाको महामारी तीब्रगतिमा अघि बढेपछि खाना खानेहरु पनि बढेका छन् । शुरुवाती चरणमा विहानमात्रै खाना खुवाउने गरिएको थियो । बेलुका विरामी र कुरुवाको विचल्ली भएपछि साँझ पनि खाना खुवाउन शुरु गरिएको छ ।

बेलुकाको खानाको मूल्य भने ८० रुपैया कायम गरिएको थियो । महामारीको बेलामा थालिएको यो मानवीय कार्यमा देश र विदेशबाट सहयोग हुन थालेपछि मंगलबारबाट विहान र साँझ नै प्रति छाक २० रुपैया कायम गरिएको छ ।सुन्दर काण्ड मित्र मण्डलका प्रवक्ता विमल चन्दले अहिले दैनिक ६ सय जनाले खाना खाइरहेको जानकारी दिनुभयो । ‘हामीले विहान २० र बेलुका ८० रुपैयामा खाना खुवाइरहेका थियौ । सहयोग जुट्न थालेपछि बेलुका पनि २० रुपैया कायम गरेका छौं, प्रवक्ता चन्दले भन्नुभयो– अहिले यहाँ खाना खाने विरामी र कुरुवामात्रै छैनन् । विपन्न र गरीव पनि थपिएका छन् ।’दिनभरी मजदुरी गर्नेहरु बेरोजगार भएका छन् । रिक्सा चलाउनेहरु थन्किएका छन् । शहरमा बसेका यी गरीव विपन्नहरु विहान र बेलुका खाना खान भेरीमा पुग्ने गरेका छन् । ‘गरीव, विपन्नहरु पनि खाना खान आउनु हुन्छ । नआउनु भन्नु भएन, प्रवक्ता चन्दले भन्नुभयो– ‘खानाको मात्रा बढेको छ । सहयोग पनि आइरहेकाले हामीले सबैलाई खुवाइरहेका छौं ।’६ सय जनालाई खाना खुवाउन मासिक आठ लाख खर्च भइरहेको छ । उपमहानगरपालिकाले डेढ लाख, दुगड गु्रपले २० दिनको रासन, डेरीवालाले दूध र मनकारीले सहयोग गरिरहदा खर्च धानिएको छ ।

कोरोना महामारी र दैनिक दर्जन आसपासमा शव निस्किरहने भेरी अस्पताल परिसरमै बसेर सुन्दर काण्ड मित्र मण्डलका सदस्यले ठूलो मानवीय सेवा गरिरहेका छन् ।यो महामारी र विपतिमा सहयोग र मानवीय कार्य गर्न चाहने हो भने जसरी पनि सकिदो रहेछ भन्ने उदाहरण सुन्दर काण्ड मित्र मण्डलले पुष्टि गरेको छ । अस्पताल परिसरमै रहेको रसोईबाट आइसोलेसनमा खाना प्याकिङ भएर गइरहेको छ । कुरुवाहरु एकछिन तल झरेर खाना खान्छन् । जिल्लाको मात्रै नभएर बाहिरबाट आएका विरामी र कुरुवालाई कहाँबाट खाना ल्याएर खाने भन्ने समस्या रसोईले समाधान गरिदिएको छ ।