सीसीएमसी खारेज गर्न माओवादीको माग


काठमाडौं, (नेस)

नेकपा माओवादी केन्द्रले सीसीएमी खारेज गर्न माग गर्ने निर्णय गरेको छ । माओवादीले कोभिड रोकथाम, उपचार र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरू गर्न नसकेको भन्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सीसीएमसी खारेजीको मागसहित प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेता वर्षमान पुनले बताउनुभयो । सरकारले कोभिड नियन्त्रणका लागि गर्नुपर्ने कामको बारेमा शुक्रबार ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको बताउँदै उहाँले अनावश्यक सीसीएमसी खारेज गर्नुपर्ने बताउनुभयो ।प्रधानमन्त्रीको नेतृत्वको विपद् व्यवस्थापन समिति वा गृहमन्त्री नेतृत्वको विपद् व्यवस्थापन प्राधिकरणलाई क्रियाशील बनाउनुपर्ने सुझाव दिने निर्णय गरेको छ । माओवादीले कोभिड नियन्त्रणका लागि प्रधानमन्त्रीको नेतृत्वमा सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन पनि माग गर्ने भएको छ ।

बैठकले कोभिड नियन्त्रणमा सरकार पूरै असफल भएको निष्कर्ष निकाल्दै स्वास्थ्य सामग्री खरिददेखि वितरणसम्ममा भएको अनियमितताको छानबिन गर्न माग गरेको छ । माओवादी बैठकले अत्यावश्यकबाहेकका राजनीति नियुक्तिहरु रोक्न तथा अनुपयुक्त क्षेत्रको खर्च घटाएर कोभिड नियन्त्रणमा जुट्न सरकारसँग माग गरेको छ ।