सरकार खोज्दै सिंहदरबारमा कांग्रेस


मधुसूदन रायमाझी, काठमाडौं

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारलाई १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले प्रभावकारीरूपमा काम गर्न नसकेको भन्दै १५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोरोना संक्रमणबाट जनतालाई सुरक्षित राख्न कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षणपत्र बुझाउनुभयो ।

पत्रमा कोरोनाको तेस्रो लहर आएकोले त्यसबाट सुरक्षित राख्न तत्काल खोप ल्याएर सबै नागरिकलाई लगाउन देउवाको माग गर्नुभएको छ । कांग्रेसले खोप खरिदलगायतमा देखिएका अनियमितता छानबिन गर्न पनि देउवाले माग गर्नुभयो ।अस्पतालहरूमा शय्यादेखि अक्सिजन अभाव देखिएकाले तत्काल व्यवस्थापन मिलाउन माग गर्दैै उहाँले संवेदनशील काममा पनि कमिसनको चक्करले ढिलासुस्ति आउनु अत्यन्त दुःखद भएको बताउनुभयो । कोभिड संकट व्यवस्थापन केन्द्रको नेतृत्व अपारदर्शी, सतही र असक्षम सावित भएको निष्कर्ष निकाल्दै कांग्रेसले कोभिड–१९ को पहिलो चरणमा देखिएको चरम भ्रष्टाचार, दुरुपयोग र भेदभावको पुनरावृत्ति अहिले पनि देखिन थालेको आरोप लगाएको छ ।अक्सिजनलगायत अन्य आवश्यक औषधिहरुको आपूर्तिमा देखिएको कार्टेलिङ, कालाबजारी र जम्माखोरीलाई तत्काल रोक्नुपर्ने माग गर्दै कांग्रेसले स्थानीय निकायहरुलाई आवश्यक साधन, स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट टे«सिङ, संक्रमितहरुको आइसोलेसन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पु¥याउने व्यवस्थाका लागि जिम्मेवारी पूरा गर्न माग गरेको छ ।

सभापति देउवासँग नेता कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, नेता डा. रामशरण महतलगायत नेता सिंहदरबार पुग्नुभएको थियो । प्रधानमन्त्रीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी, एमाले नेता सुवास नेम्वाङलगायतको सहभागिता रहेको थियो ।