प्रहरीद्वारा ९ हजार ५ सय ५३ अक्सिजन सिलिन्डर संकलन 


मधुसूदन रायमाझी, काठमाडौं

अक्सिजनको अभावमा कोरोना संक्रमितको ज्यान जाने क्रम बढेपछि नेपाल प्रहरीले अक्सिजन संकलन गरेर अस्पताललाई बुझाउने क्रमलाई अभियानकै रूपमा अगाडि बढाएको छ । यस अभियानअन्तर्गत प्रहरीले ७७ वटा जिल्लाबाट अक्सिजन सिलिन्डर खोजेर वितरण गर्न शुरू गरेको छ ।

प्रहरीले गत वैशाख २६ गतेदेखि सातवटै प्रदेशभित्र भरिएका तथा खाली अक्सिजन सिलिन्डर संकलन गर्ने काम शुरु गरेको थियो । कोरोना संक्रमितको संख्या ह्वातै बढेपछि अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिन प्रहरीले देशभरका उद्योग र संघ संस्थालाई सिलिन्डर सहयोग गर्न आग्रह गरेको थियो । प्रहरीले सातवटा प्रदेशमा आजसम्म ९ हजार ५ सय ५३ वटा सिलिन्डर संकलन गरेको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले बताउनुभयो ।उहाँले तीमध्ये ८ हजार ५ सय ५३ सिलिन्डर वितरण गरिसकिएको र १ हजार वितरण गर्न बाँकी रहेको बताउनुभयो । उहाँका अनुसार संकलन गरेको सिलिन्डर कोरोनाको अवस्था सामान्य भएपछि फिर्ता गर्ने गरी लिएको हो ।
संकलन गरिएको सिलिन्डर, स्वास्थ्य मन्त्रालय, कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी), जिल्लास्तरीय कोभिड–१९, जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसीसी) को समन्वयमा अस्पतालहरूलाई वितारण गरिएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट संकलन गरिएको अक्सिजनबाट संक्रमितलाई राहत मिलेको छ । संकलित अक्सिजन सिलिन्डर जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्लास्थित प्रहरी कार्यालयमा राखी आवश्यकताअनुसार कोभिड अस्पताल र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको छ ।प्रहरीले आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघ–संस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी वितरण गरिएको हो ।

प्रवक्ता कुँवरले यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघ–संस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न आग्रह गर्नुभयो ।

२०७८।०१।२६ गते देखि २।ण्ट गतेसम्म
सि नं प्रदेश संकलन वितरण बाँकी
भरेको खाली भरेको खाली भरेको खाली
१ १ नं‍‍‍‍ २९२ ८४७ ३३४ ६१३ ० २३४
२ २ नं ४९३ १५८४ ४५६ १४८३ ३७ १०१
३ बागमती ८५२ ७२३ ८५६ ३४८ ० ३७५
४ गण्डकी ३४३ ६१३ २७८ ५२४ ६५ ८९
५ लुम्बिनी ७८० १२४४ ७५८ ११७० २२ ७४
६ कर्णाली ५६ १० ५६ १० ० ०
७ सुदुर पश्चि म १४६ ३०८ १४६ ३०८ ० ०
८ उपत्यका १२३ ९३९ ११६ ८९७ ७ ४२
जम्मा ३०८५ ६२६८ ३००० ५३५३ ८५ ९१५