राजनीतिक आकाशबाट बादलको पतन

राष्ट्रिय सभा निर्वाचन


रोशन पराजुली, हेटौंडा,

सर्वोच्च अदालतले नेकपा एकता बदर गरिदिएसँगै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेतिर लागेपछि रामबहादुर थापा ‘बादल’ लाई बिहीबार एकैदिनमा दुईवटा चोट परेको छ ।दल त्याग गरेका कारण गैरसांसद हुनुभएका बादललाई मन्त्रीको हैसियतमा काम नगर्न-नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएकै दिन हेटौंडामा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा पनि उहाँ पराजित हुनुभएको छ ।

राष्ट्रिय सभा सदस्य पदमा कुल ५ हजार ८८ मतभार प्राप्त गरी नेकपा एमाले निकट डा. खिमलाल देवकोटा विजयी हुनुभएको छ । थापाले कुल ४ हजार १४ मत प्राप्त गर्नुभएको थियो । डा. देवकोटा वागमती प्रदेश नीति योजना आयोगका पूर्वउपाध्यक्ष हुनुहुन्छ । उहाँले २ वर्ष उपाध्यक्ष भएर काम गर्नुभएको थियो ।स्थानीय तहमा देवकोटाले १ सय २८ मत पाउँदा बादलले १ सय ३ मत मात्र पाउनुभयो । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले २ मत पाउनुभएको थियो । डा. खिमलालले पाउनुभएको १ सय २८ मतको मतभार २ हजार ३ सय ४ हुन्छ भने बादलले पाउनुभएको मतको मतभार १ हजार ८ सय ५४ हुन्छ ।प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाउनुभयो । बादलले पाएको ४५ मतको मतभार २ हजार १ सय ६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २ हजार ७ सय ८४ हुन्छ ।डा. देवकोटालाई विपक्षी गठबन्धनका तर्फबाट उम्मेदवार बनाउन एमालेकै माधव नेपाल समूहले भूमिका खेलेको थियो । त्यसपछि दबाबमा रहेका ओलीले पछिल्लो समय नेपाललगायत ४ नेताको कारबाही फुकुवा गर्दै वार्ता प्रक्रिया चलाएको थियो । तर, बिहीबारको मतदानमा नेपाल समूहले थापालाई सघाएन र देवकोटालाई मतदान ग-यो ।

गृहमन्त्री थापालाई सूर्य, नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल र कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बन्नुभएका डा. देवकोटालाई कलम चुनाव चिह्न प्रदान गरिएको थियो ।उपनिर्वाचनमा प्रदेशसभाका १ सय १० र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ सहित कुल ३ सय ४८ मतदाता रहे पनि सबैले मतदान गरेनन् । प्रदेशसभा सदस्यमा १ सय ५ जना र प्रदेशअन्तर्गत गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखमा २ सय ३३ जना गरी ३ सय ३७ जनाले मत खसालेको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो ।मतदान प्रक्रियामा प्रदेशसभा सदस्य १ सय १० जनामध्ये १ सय ५ जना सहभागी भएको र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ३८ जनामध्ये २ सय ३२ जनाले मतदान गर्नुभएको थियो । कोभिड भएका प्रतिनिधि २५ थिए । मतदानमा कुल मतदाता संख्याको ९६ प्रतिशत मतदाताले मतदान गरेका थिए । प्रदेशसभाका मतदाता पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको थियो । प्रदेशसभामा ३ मतदाता भएका विवेकशील साझा पार्टीले भने भोट हालेन ।
प्रदेशसभामा एमालेको ५६, माओवादी केन्द्रको २३, कांग्रेसको २२, विवेकशील साझा पार्टीका ३, राप्रपा २, नेमकिपा २ र स्वतन्त्र १ गरी १ सय ९ मतदाता छन् ।

स्थानीय तहमा एमालेको १ सय ३३, कांग्रेसको ६७, माओवादीको ३३, नेमकिपाको २, राप्रपाको २ र जसपाको १ मत छ । प्रदेशसभाका एक सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मतभार गणना हुन्छ । प्रदेशमा १ सय १९ स्थानीय तह छन् ।तीनवटा बुथबाट मतदान भएको थियो । ‘क’ बुथमा प्रदेशसभा सदस्य, ‘ख’ बुथमा स्थानीय तहका प्रमुख-उपप्रमुख तथा कोरोना संक्रमिताका लागि ‘ग’ बुथमा मतदानको व्यवस्था मिलाइएको थियो ।राष्ट्रिय सभा सदस्य निर्वाचित भएपछि डा. देवकोटाले आफू संविधान रक्षाका लागि लागिपर्ने बताउनुभयो । उहाँले सरकारले प्रदेश र स्थानीय तहलाई हातखुट्टा बाँधेर काम गर्ने वातावरण नदिएको टिप्पणी गर्दै समानुपातिक र समावेशी प्रतिनिधित्वको साझा उपलब्धिलाई भताभुङ्ग गर्ने काम वर्तमान सरकारबाट भइरहेको आरोप पनि लगाउनुभयो ।

एमाले मतदाता छुट्टाछुट्टै स्थानमा

उपनिर्वाचनमा मतदानस्थल पुगेका एमालेका मतदाता छुट्टाछुट्टै स्थानमा बसेका थिए । मतदानमा माधव नेपाल पक्षका नेता विपक्षीसँग टेन्टमा बसेका देखियो भने ओली पक्षका नेता तथा मतदाता एउटा टेन्टमा बसे ।एमाले नेतृ अष्टलक्ष्मी शाक्य, मुनु सिग्देल र हेटौंडा उपमहानगर उपमेयर मीना लामालगायत माधव नेपाल समूहका मतदाता प्रदेशसभा उपसभामुख राधिका तामाङ, प्रतिपक्षी दलको नेता इन्द्र बानियाँलगायत विपक्षी दलसँग बसेको दृश्य रोचक देखिएको थियो । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत टोली भने अर्को टेन्टमा बसेको थियो ।

प्रधानमन्त्रीविरुद्ध उजुरी

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।राष्ट्रिय सभा उपनिर्वाचनमा मौन अवधि शुरु भइसकेपछि प्रधानमन्त्री ओली र मन्त्री श्रेष्ठले विज्ञप्ति निकाल्दै नेकपा एमालेका उम्मेदवार थापालाई मतदान गर्न अपिल गरेपछि निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांगेसले निर्वाचन आयोगमा उजुरी दिएको हो । उजुरीमा कांग्रेसले ओली र श्रेष्ठमाथि कारबाही माग गरेको छ ।